वन कार्यालय भोजपुरद्वारा घाइते हिमाली गिद्धको उद्धार


युवराज विष्ट
भोजपुर, १ बैशाख ।
डिभिजन वन कार्यालय भोजपुरले घाइते अवस्थामा फेला परेको एक गिद्धको सफल उद्धार गरी उपचारपछि पुनः प्राकृतिक बासस्थानमै छाडेको छ।
भोजपुर नगरपालिका–४ क्षेत्रमा स्थानीयवासीले गिद्ध घाइते अवस्थामा देखेपछि सम्बन्धित निकायलाई जानकारी गराएका थिए। सोही सूचनाको आधारमा वन कार्यालयको टोली घटनास्थलमा पुगेर गिद्धको उद्धार गरेको हो।


उद्धारपछि गिद्धलाई सुरक्षित रूपमा वन कार्यालयमा ल्याई आवश्यक उपचार, पोषण तथा निगरानी गरिएको थियो। तीन दिनको हेरचाहपछि गिद्धको स्वास्थ्य अवस्थामा सुधार आएपछि सुरक्षित स्थानमा छाडिएको डिभिजन वन कार्यालयका प्रमुख खुद्रुस मियाले बताउनुभयो । उपचार पश्चात सोमबार छाडिएको उहाँले जानकारी दिनुभयो ।
कार्यालयका अधिकत कपिलदेव अधिकारीका अनुसार पूर्ण रूपमा निको भइसकेपछि उक्त गिद्धलाई पुनः प्राकृतिक वातावरणमा फर्काइएको हो। पछिल्लो समय बासस्थानको अभाव, विषादी प्रयोग तथा विभिन्न मानवीय गतिविधिका कारण गिद्धको संख्या घट्दै गएको उहाँको भनाइ छ ।
वन कार्यालयले यस्ता संरक्षित तथा संकटमा परेका वन्यजन्तुको संरक्षणमा सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै, घाइते वा समस्यामा परेका वन्यजन्तु देखिएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार