
युवराज विष्ट
भोजपुर, ३० चैत .
नयाँ वर्ष २०८३ को अवसर पारेर भोजपुरको मुन्दुम पदमार्गअन्तर्गत पर्ने टेम्केमैयुङ गाउँपालिका–स्थित पर्यटकीय स्थल चखेवामा ‘रैथाने खाना महोत्सव’ सुरु गरिएको छ।
स्थानीय उत्पादनको प्रवद्र्धन तथा बजारीकरण गर्ने मुख्य उद्देश्यका साथ महोत्सव आयोजना गरिएको चखेवा होटल तथा होमस्टे व्यवसायी संघका अध्यक्ष विवेक कुलुङले जानकारी दिनुभयो। उहाँका अनुसार महोत्सवमा कोदोको रोटी, ढिडो, वाचिपा, गुन्द्रुक, भुटेको मकै, फापरको रोटी, भेडाको मासुलगायतका रैथाने परिकारहरू मात्र बिक्री–वितरण भइरहेको छ।
“स्थानीय उत्पादनलाई प्राथमिकता दिने उद्देश्यले महोत्सव आयोजना गरिएको हो,” अध्यक्ष कुलुङले भन्नुभयो, “महोत्सव अवधिभर पत्रु (जंक फुड) खानाको बिक्रीमा पूर्ण रूपमा रोक लगाइएको छ।”
टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले महोत्सवमार्फत स्थानीय किसान, उद्यमी तथा व्यवसायीलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको बताउनुभयो। उहाँका अनुसार यसले स्थानीय उत्पादनको बजारीकरणमा टेवा पु¥याउने अपेक्षा गरिएको छ।
उद्घाटन कार्यक्रममा बोल्दै कोशी प्रदेश सांसद विनोद वान्तावाले पर्यटनसँगै कृषि उत्पादनको बजारीकरण गर्ने उद्देश्यले आयोजना गरिएको यस्तो महोत्सव प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी, गाउँपालिका उपाध्यक्ष रमादेवी राईले कृषि पर्यटनलाई प्राथमिकता गाउँपालिकाले आफ्ना गतिविधि बढाएको बताउनुभयो । स्थानीय कृषि उत्पादनलाई पर्यटनसँग जोड्न महोत्सव आयोजना गरिएको जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी राजन पौडेलले प्राकृति र संस्कृतिको माध्यमबाट पर्यटन क्षेत्रको विकास गर्न सकिने बताउनुभयो । स्थानीयस्तरमा सञ्चालन हुने यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रको अर्थतन्त्रलाई मजबुद बनाउन टेवा पुग्ने उहाँको भनाइ छ ।
टेम्केमैयुङ गाउँपालिका र पदमार्गमा आधारित पर्यटन विकास परियोजना (टिटिडिपी) हेल्भेटास नेपालको आर्थिक सहयोगमा महोत्सव आयोजना गरिएको हो। आयोजकका अनुसार यस महोत्सवले स्थानीय संस्कृति, परम्परा र जीवनशैलीको संरक्षण तथा प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।


















