टेम्केमैयुङ गाउँपालिकाको प्रशासनिक भवन शिलान्यास


भोजपुर, २३ चैत । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको नयाँ प्रशासनिक भवन निर्माण कार्यको औपचारिक शिलान्यास गरिएको छ। गाउँपालिकाको प्रशासनिक कामकारबाहीलाई सहज, छरितो र प्रभावकारी बनाउने उद्देश्यले भवन निर्माण प्रक्रिया अघि बढाइएको हो।

भवन संघीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारीमा निर्माण हुन लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार वि.स. २०८४ साल असोज २० गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित रु. ५ करोड ७१ लाखमा ठेक्का सम्झौता गरिएको छ । भवन निर्माणको जिम्मा ‘बिकेश एण्ड आयुष कोसेली जय गोविन्द जेभी’ ले लिएको छ

भवनको शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष सरोज बस्नेतले लामो प्रयासपछि प्रशासनिक भवन निर्माण प्रक्रिया सुरु हुनु गाउँपालिकाका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। व्यवस्थित भवन अभावका कारण गाउँपालिकाले कच्ची संरचनाबाट सेवा सञ्चालन गर्दै आएको उहाँको भनाइ छ ।

“हाल भवन अभावकै कारण सेवा व्यवस्थापनमा विभिन्न चुनौतीहरू छन्,” अध्यक्ष बस्नेतले भन्नुभयो, “नयाँ भवन निर्माणपछि सबै सेवा एउटै स्थानबाट सहज रूपमा उपलब्ध गराउन सकिनेछ । यसले नागरिकलाई प्रत्यक्ष लाभ पुग्नेछ।”

उहाँले भवन निर्माणका लागि निःशुल्क तथा सहुलियत दरमा जग्गा उपलब्ध गराउने स्थानीयबासीप्रति आभार व्यक्त गर्दै उनीहरूको सहयोगले विकास निर्माणमा सकारात्मक ऊर्जा थपिएको उल्लेख गर्नुभयो।

गाउँपालिका उपाध्यक्ष रमादेवी राईले भवन अभावका कारण स्थानीय सरकारले सेवा प्रवाहमा भोग्दै आएको समस्या अन्त्य गर्न प्रशासनिक भवन निर्माणले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। भवन निर्माण पश्चात प्रशासनिक सेवा मात्र नभई न्यायिक समितिमार्फत हुने सेवा प्रवाहमासमेत सहजता हुने उहाँको भनाइ छ । उहाँले भवनलाई गुणस्तरीयढङ्गले समयमै सम्पन्न गराउन आवश्यक समन्वय र सहजीकरण गरिने बताउनुभयो ।

निर्माण व्यवसायी तेज श्रेष्ठले कुनै अवरोध नआए तोकिएको समयसीमाभित्रै भवन निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो । निर्माण कार्य प्राविधिक मापदण्डअनुसार अघि बढाइने र गुणस्तरमा कुनै सम्झौता नगरिने उहाँको भनाइ छ ।

भवन निर्माणले सेवा प्रवाहलाई थप छरितो, प्रभावकारी र पारदर्शी बनाउने भूमिका खेल्ने स्थानीयबासी रविचन्द्र राईले बताउनुभयो । हाल भवन नहुँदा सेवा लिन समस्या रहेको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार