
युवराज विष्ट
भोजपुर, ३० चैत ।
भोजपुर नगरपालिका–९ काफ्लेमा रहेको जनकल्याण आधारभूत विद्यालयलाई मिस तामाङ प्रतियोगिताकी दोस्रो रनरअप सृष्टि थिङ तामाङले रु. २० हजार बराबरको सामग्री हस्तान्तरण गर्नुभएको छ।
उपाधि जितेसँगै उहाँले विद्यालयलाई एक थान वाटर डिस्पेन्सर र ९ थान भित्ते घडी प्रदान गर्नुभएको विद्यालयका प्रधानाध्यापक योगराज लुईटेलले जानकारी दिनुभयो। सामग्री हस्तान्तरण कार्यक्रममा विद्यालयले विजेता तामाङलाई सम्मानसमेत गरेको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्रराज तामाङले सृष्टि थिङ तामाङले हासिल गरेको उपाधि विद्यालय र समुदायका लागि गौरवको विषय भएको उल्लेख गर्दै यसले विद्यार्थीहरूलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रम भोजपुर नगरपालिका–९ का वडाध्यक्ष रामबहादुर तामाङको प्रमुख आतिथ्यतामा सोमबार सम्पन्न भएको हो। कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा स्थानीय सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।


















