
युवराज विष्ट
भोजपुर, २९ चैत । भोजपुरमा आगामी बैशाख ६ गतेदेखि १२ गतेसम्म नवौँ संस्करणको ‘मेयर भोजपुर गोल्डकप’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा सञ्चालन हुने प्रतियोगिताबारे आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो।
प्रतियोगितामा देशका चर्चित तीन ‘ए’ डिभिजन क्लब सहित कुल ८ टिमको सहभागिता रहनेछ। प्रतियोगितालाई अझ प्रतिस्पर्धात्मक र आकर्षक बनाउन उत्कृष्ट टिमहरूको सहभागिता सुनिश्चित गरिएको आयोजकले जनाएको छ।
भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रविनकुमार सुवालका अनुसार प्रतियोगिताका विजेताले नगद ५ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। साथै, उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न विधामा विशेष पुरस्कार प्रदान गरिनेछ।
प्रतियोगितामा सातदोबाटो युथ क्लब (ललितपुर), एपीएफ फुटबल क्लब (काठमाडौं), प्लानिङ ब्वाइज युनाइटेड (काठमाडौं), एल एक्स सिटी (मोरङ), संखुवासभा–११ (संखुवासभा), केपिलासगढी गाउँपालिका (खोटाङ), द गोर्खाज फुटबल एकेडेमी (उदयपुर) र आयोजक भोजपुर जिल्ला फुटबल संघको सहभागिता रहनेछ। पुरुषतर्फको प्रतियोगिता सञ्चालनका लागि भोजपुर नगरपालिकाले ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
यसैबीच, बैशाख १७ गतेदेखि २० गतेसम्म आठौँ संस्करणको ‘मेयर कप’ महिला फुटबल प्रतियोगिता पनि आयोजना गरिनेछ। महिला फुटबल प्रतियोगितामा विजेताले १ लाख ६ हजार रुपैयाँ र उपविजेताले ५१ हजार ५५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। बाहिरबाट सहभागी हुने टिमहरूलाई तयारी खर्च स्वरूप २० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।
पत्रकार सम्मेलनकै अवसरमा यसअघि सम्पन्न प्रतियोगिताहरूको आय–व्यय विवरण सार्वजनिक गरिएको छ ।



















