जेष्ठ नागरिकलाई घरदैलोमै भत्ता र न्यानो कपडा वितरण गर्दै ‘रामप्रसादराई’


युवराज विष्ट
भोजपुर, २२ पुस ।
रामप्रसादराई गाउँपालिकाले जेष्ठ नागरिकलाई घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणसँगै न्यानो कपडा उपलब्ध गराउने उद्देश्यसहित घुम्ती शिविर सञ्चालन गरेको छ । गाउँपालिका केन्द्रस्थित बैंकसम्म पुग्न जेष्ठ नागरिक तथा अशक्त व्यक्तिलाई कठिनाइ भएपछि वडास्तरमै सेवा प्रवाह थालिएको हो ।
घुम्ती शिविरमार्फत जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्नुका साथै ७० वर्षमाथिका नागरिकलाई न्यानो कपडा वितरण र निःशुल्क स्वास्थ्य परीक्षणसमेत भइरहेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले जानकारी दिनुभयो । भौगोलिक विकटताका कारण सेवा लिन गाउँपालिका केन्द्रसम्म आउन कठिन भएकाले घरपायकमै सेवा उपलब्ध गराउने उद्देश्यले घुम्ती शिविर सञ्चालन गरिएको उहाँको भनाइ छ ।
“नागरिकको सहजतालाई प्राथमिकतामा राख्दै हामीले घुम्ती शिविरमार्फत सेवा प्रदान गर्दै आएका छौँ,” अध्यक्ष राईले भन्नुभयो, “भौगोलिक विकटताका कारण सेवा लिन समस्या भइरहेकाले स्थानीय सरकारको सेवा जनताको घरदैलोसम्म पु¥याउने लक्ष्यका साथ यो अभियान सञ्चालन भइरहेको छ ।”
जेष्ठ नागरिकप्रति स्थानीय सरकारको दायित्वलाई आत्मसात गर्दै गाउँपालिकाले ‘जेष्ठ नागरिकप्रति दायित्व कार्यक्रम’ अन्तर्गत ७० वर्षमाथिका नागरिकलाई न्यानो कपडा वितरण गर्दै आएको छ । जाडो मौसममा न्यानो कपडा पाएपछि आफूहरूलाई ठूलो राहत मिलेको जेष्ठ नागरिकले बताएका छन् ।


स्थानीय बासिन्दाका अनुसार घरदैलोमै भत्ता, स्वास्थ्य सेवा र न्यानो कपडा वितरण हुँदा सेवा लिन टाढा धाउनु नपर्ने भएकाले कार्यक्रम प्रभावकारी बनेको छ । आगामी दिनमा पनि यस्ता घुम्ती शिविरलाई निरन्तरता दिइने गाउँपालिकाले जनाएको छ ।
सोमबार वडा नं–४ दलगाउँबाट शुरु भएको शिविर क्रमशःअन्य वडामा पनि सञ्चालन हुनेछ । शिविर पुस २९ सम्म सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार