चार लाख बढी ब्यक्तिगत लागानीमा अन्नपूर्ण प्रतिक्षालय निर्माण


भोजपुर, १३ बैशाख । भोजपुरको टेम्केमैयुङ गाउँपालिका ३ अन्नपूर्णको स्वास्थ्य चौकीमा निर्माण भएको प्रतिक्षालय हस्तान्तरण गरिएको छ । ब्यक्तिगत चार लाख आठ हजार लागतमा निर्माण भएको (विष्णु विसौनी) प्रतिक्षालयको विष्णुदेवि बान्तावाले स्वास्थ्य चौकी अन्नपूर्णलाई बुधबार हस्तान्तरण गर्नु भएको हो । छोराहरु रामकाजी बान्तावा, नेत्रध्वज बान्तावा, ताराध्वज बान्तावा र राजेन्द्र बान्तावाले आमा विष्णुदेवी बान्तावाको नाममा ब्यक्तिगत लागतमा उक्त प्रतिक्षालयको निर्माण गरिदिनु भएको हो ।
स्वास्थ्य चौकीमा आउने विरामीहरुलाई सहजता होस् भन्ने उद्देश्यले आमा विष्णु देवि बान्तावाको सम्मानमा प्रतिक्षालय निर्माण गरिदिएको पूर्व एआइजी तथा उहाँका छोरा रामकाजी बान्तावाले बताउनुभयो । उहाँले भन्नुभयो ‘आमाको सम्मान र बुवाको सम्झनामा हामी चारभाई छोरा बुहारीहरुले यो प्रतिक्षालयको निर्माण गरिदिएका छौँ। यसले यहाँ सेवा लिन आउने विरामीलाई सहज हुन्छ भन्ने हाम्रो अपेक्षा छ । यसको संरक्षण तथा स्थायित्वका लागि स्वास्थ्य चौकी व्यवस्थापन समिति तथा स्थानीय तहले ध्यान दिन अनुरोध गर्छ।’

२०७३ सालमा स्वास्थ्य चौकी अन्नपूर्णको जग्गा खरिदका लागि बागमती अञ्चलका पूर्व मूख्य अञ्चालधिस स्वर्गिय बाबु मक्कर बहादुर बान्तावाले आठ लाख रकम सहयोग गर्नु भएको थियो । आगामी दिनमासमेत सामाजिक क्षेत्रमा कामगर्ने इच्छा रहेको उहाँले बताउनुभयो । प्रतिक्षालय निर्माणले स्वास्थ्य चौकीमा आउने विरामी तथा सेवाग्राही नागरिकलाई सहज भएको टेम्केमैयुङ गाउँपालिका वडा नं ३ का वडाध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष पूर्णप्रसाद राईले बताउनुभयो ।

अध्यक्ष राईले भन्नुभयो ‘उहाँहरुले व्यक्तिगत लगानीमा प्रतिक्षालय निर्माण गरिदिनुभएको छ । यसले स्वास्थ्य चौकीमा सेवा लिन आउने नागरिकहरुलाई सहज भएको छ । स्वास्थ्य चौकी व्यवस्थापन समितिको बैठक वस्ने ठाउँसमेत थिएन । अव भने बैठक तथा छलफल गर्न समेत सहज भएको छ । उहाँहरुले गर्नु भएको योगदानको कदर गर्दै स्वास्थ्य चौकीले उहाँहरुलाई केहि गर्न नसकेनी कदर पत्रले सम्मान गरेका छौँ । आगामी दिनमा समेत उहाँहरुको साथ सहयोगको हामीले अपेक्षा गरका छौ ।’

कार्यक्रममा बोल्दै टेम्केमैयुङ गाउँपालिका उपाध्यक्ष रमादेवी राईले स्थानीय तहको सीमित स्रोत साधानका बीच पनि स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथामिकतामा राखेर काम गरिरहेकोे बताउनुभयो । प्रतिक्षालय निर्माणले सेवाग्राहीलाई सहज भएको उहाँले धारणा राख्नुभयो । गाउँपालिकाका अन्य स्वास्थ्य संस्थामा पनि यस्ता खालका सहयोग गर्न उहाँले आग्रह समेत गर्नुभयो ।

व्यक्तिगत लगानीमा विष्णुदेवी बान्तावाका छोरा बुहारीहरुले गर्नु भएको काम प्रसंशायोग्य रहेको गाउँपालिका अध्यक्ष सरोज बस्तेतले बताउनुभयो । उहाँहरुले जस्तै टेम्केमैयुङ गाउँपालिकामा जन्मनुभएको अन्य महानुभावहरुलाई पनि आफ्नो जन्मभूमीमा यस्तै खालका काम गर्नसमेत आग्रह गर्नु भयो । विरामीहरुले घण्टौं लगाएर स्वास्थ्य चौकी आउनुपर्ने बाध्यता रहेको स्वास्थ्य चौकी अन्नपूर्णकी प्रमुख गिता भट्टराईले बताउनुभयो । टाढाबाट थाके आएका सेवाग्राहीलाई प्रतिक्षालय निर्माणले सहज भएको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार