
भोजपुर, १२ पुस ।
भोजपुर नगरपालिका–५, बोखिममा रहेको पञ्चकन्या माध्यमिक विद्यालयको ६९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस–२०८२ विविध कार्यक्रमका बीच सम्पन्न भएको छ। सप्ताहव्यापी रूपमा पौष ७ गतेदेखि सुरु भएको कार्यक्रम पौष १२ गते मूल समारोहका साथ सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक लक्ष्मण जोशीले जानकारी दिनुभयो।

कार्यक्रममा बोल्ने वक्ताहरूले गुणस्तरीय शिक्षाका लागि विद्यालय, अभिभावक र समुदायबीच सहकार्य अपरिहार्य रहेकोमा जोड दिएका थिए। विद्यालयको शैक्षिक उपलब्धि, अनुशासन तथा अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको सर्वाङ्गीण विकासमा विद्यालयले खेलेको भूमिकाको प्रशंसा गरिएको थियो।

वार्षिकोत्सवको अवसरमा शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको विद्यालयले जनाएको छ। विद्यालयमा स्थापना गरिएका १७ वटा अक्षयकोषबाट प्राप्त व्याज रकम जेहेन्दार तथा मेहनती विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको जनाइएको छ।

समापन समारोहका प्रमुख अतिथि भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आले तथा विशेष अतिथि शिक्षा विकास तथा समन्वय इकाई भोजपुरका प्रमुख निवास न्यौपाने रहनुभएको थियो। कार्यक्रममा वडाध्यक्ष फविन्द्र प्रधान, स्थानीय जनप्रतिनिधि, शिक्षा क्षेत्रका सरोकारवाला, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

















