
भोजपुर, २७ भदौ । पूर्वी पहाडी जिल्ला भोजपुरमा पनि कालाजारको विरामी फेला परेका छन् । यहाँको पौवादुङमा गाउँपालिका ५ सानोदुम्मामा दुई जना कालाजारको विरामी फेला परेको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ । भोजपुरमा दुई जनामा कालाजार देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले जानकारी दिए ।
सात वर्षिय बच्चा विरामी भएपछि उपचारको क्रममा विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परिक्षण गराउने क्रममा कालाजार देखिएको हो । बच्चामा कालाजार देखिएपछि बाह्र जनाको स्वास्थ्य परिक्षण गरिएकोमा पुनः ६६ वर्षिय बृद्धमा कालाजार देखिएको पौवादुङमा ५ सानोदुम्माका वडाध्यक्ष बोमप्रसाद राईले जानकारी दिए । वडामा कालाजार देखिएपछि रोकथामसँगै थप फैलन नदिन सजकता अपनाइएको वडाध्यक्ष राईको भनाइ छ । ‘हाम्रो वडामा दुई जनामा कालाजार देखिएको छ’ वडाध्यक्ष राईले भने,‘यसलाई थप फैलन नदिन वडा तथा गाउँपालिकाको पहलमा सकृयता बढाएका छौँ । कसैमा ज्वरोकोे लक्षण देखिएमा तत्काल मानेडाँडा आधारभूत अस्पतालमा आएर जाँच गराउन सूचना जारी गरेका छौँ ।’
यसलाई थप फैलन नदिन नेपाल सरकारसँग अनुरोध गरिएको वडाध्यक्ष राईले बताए । मानेडाँडा अस्पतालसँगै वडाका विभिन्न ठाउँमा परिक्षण भईरहेको उनले जानकारी दिए । कालाजार देखिएका बृद्धको आर्थिक अवस्था कमजोर रहेकोले गाउँपालिकाबाट सहयोग जुटाएर बाहिरका अस्पताल पठाउने तयारी भईरहेको उनको भनाइ छ । गाउँपालिकामा कालाजारको विरामी देखिएकाले यसको रोकथामको लागि गाउँपालिकाले विषेश सजकता अपनाएको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए ।कालाजारबाट बच्नको लागि सजकता अपनाउनसमेत स्थानीयलाई अनुरोध गरिएको अध्यक्ष राईले बताए ।
‘गाउँपालिकामा कालाजारका विरामी देखिएसँगै हामीले थप सजकता अपनाएका छौँ’अध्यक्ष राईले भने,‘विरामी देखिएका क्षेत्रमा किटनाषक विषादी छर्ने तयारी गरेका छौँ भने परिक्षणको दायरा बढाइएको छ । लक्षण देखिएका विरामीलाई उपचारको लागि गाउँपालिकाबाट आवश्यक सहयोग गछौँ ।’गाउँपालिका क्षेत्रमा कालाजार देखिएपछि डब्लुएचओ को समूहसहित परिक्षण भईरहेको प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । कालाजार देखिएका विरामीलाई गाउँपालिकाले निःशुल्क उपचारको व्यवस्था गर्ने उनको भनाइ छ ।
तराईका क्षेत्रमा बढी मात्रामा कालाजारका विरामी देखिएपनि यहाँको तल्लो भेगको गर्मी क्षेत्रमा विरामी फेला परेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गेहेन्द्र उपाध्यायले जानकारी दिए । रोकथाम तथा नियन्त्रणको लागि शाखाले आवश्यक काम गरिरहेको उनको भनाइ छ ।