भोजपुर, १४ जेठ ।
जिल्ला अस्पताल भोजपुरसहित चार ओटा स्वास्थ्य संस्थालाई ४० लाख बराबरको स्वास्थ्य सामग्री वितरण गरिएको छ ।यहाँका नागरिकलाई दिइने सेवालाई प्रभावकारी बनाउने लक्ष्यले नेपाली काङ्ग्रेस जिल्ला सचिव डा. चक्रबहादुरको कार्कीको पहलमा स्वास्थ्य संस्थालाई सामग्री हस्तान्तरण गरिएको हो ।
विभिन्न राष्ट्रबाट स्वास्थ्य मन्त्रालयलाई प्राप्त स्वास्थ्य उपकरणसहितका सामग्री आफ्नो पहलमा भोजपुरमा ल्याएको कार्कीले बताए । कार्कीले स्वास्थ्य संस्थालाई उपलब्ध गराइएको सामग्रीमा अक्सिजन कन्सनट्रेटर, मास्क, गाउन सेट, पल्स अक्सोमिटर, सिटामोललगायत रहेको बताए ।
‘‘ नागरिकहरुले सहज स्वास्थ्य सेवा पाउन भन्नको लागि विभिन्न स्वास्थ्य सामग्री वितरण भइरहेको छ’’ कार्कीले भने,‘ खास गरेर यहाँका स्वास्थ्य संस्थाहरुले आवश्यक सामग्रीको अभावमा भोगेको समस्यालाई मध्यनजर गरेर मैले जिल्लाको लागि पहल गरेर सामग्री ल्याएको हुँ । यसले सहज सेवा प्रवाहमा टेवा पुग्छ भन्ने मैले आशा गरेको छु ।’
कार्कीका अनुसार जिल्ला अस्पताल, भोजपुर नगरपालिका–३, गुप्तेश्वर, वडा नं ८, वडा नं १० र वडा नं १२ मा रहेका स्वास्थ्य संस्थामा पनि सामग्री वितरण गरिने छ । जिल्ला अस्पतालका लागि आएका सामग्री भने सरोकारवाला पक्षको उपस्थितमा हस्तान्तरण भईसकेको कार्कीले जानकारी दिए ।
जिल्ला अस्पतालका लागि दुई थान अक्सिजन कन्सनट्रेटर, दुई हजार थान सर्जिकल मास्क, एक सय ५० थान गाउन, १० थान पल्स अक्सोमिटर हस्तान्तरण गरिएको छ । भोजपुर नगरपालिका १२, टक्सारमा रहेको स्वास्थ्य चौकीलाई १० लिटरको अक्सिजन कन्सनट्रेटर दुई थान, गाउन सेट २० थान, सिटामोल पाँच सय थान, मास्क एक हजार थानलगायत सामाग्री हस्तान्तरण गरिएको हो ।
भोजपुर नगरपालिका–८ मा रहेको स्वास्थ्य संस्थाका लागि १० लिटरको अक्सिजन कन्सनट्रेटर एक थान, सिटामोल दुई हजार थान, गाउन २० थान हस्तान्तरण गरिएको छ भने वडा १० मा रहेको स्वास्थ्य चौकीलाई १० लिटरको अक्सिजन कन्सनट्रेटर एक थान, मास्क एक हजार थान, सिटामोल पाँच हजार थानलगायत सामग्री हस्तान्तरण हुनेछ ।
भोजपुर नगरपालिका–३, गुप्तेश्वरमा रहेको स्वास्थ्य चौकीलाई १० लिटरको अक्सिजन कन्सनट्रेटर एक थान, पल्स अक्सोमिटर दुई थान, फेटोस्कोप एक थान लगायतका सामग्री हस्तान्तरण हुने कार्कीले जानकारी दिए । कार्कीले विभिन्न समयमा जिल्लाको विकासको लागि पहल कदमीसमेत गर्दै आएका छन् ।