तत्काल निजामती सेवा ऐन ल्याउन माग गर्दै भोजपुरका पाँच कर्मचारी संगठनको संयुक्त आन्दोलन


भोजपुर, ९ भदौ । सङ्घीय निजामती सेवा ऐन तत्काल जारी गर्न माग गर्दै भोजपुरका पाँच निजामती कर्मचारी संगठनले संयुक्त आन्दोलन गरेका छन् । उनीहरुले हातमा कालोपट्टी बाँधेर काम गरेका छन् । कर्मचारीमैत्री सङ्घीय निजामती सेवा ऐन तत्काल जारी गराउन निजामती कर्मचारी ट्रेड युनियन सञ्जालका मागसहित भोजपुरका सबै कार्यालयमा कर्मचारीले हातमा कालोपट्टी बाँधेर काम गरेको नेपाल राष्ट्रिय निजामती कर्मचारी सङ्गठन भोजपुरका अध्यक्ष नरेश राईले बताए ।

ट्रेड युनियन सञ्जालले राखेका मागमा ऐक्यबद्धता जनाउँदै भोजपुरमा कार्यरत निजामती कर्मचारीले पनि केन्द्रीय कार्यक्रमअन्तर्गत कालोपट्टी हातमा बाँधेर काम गर्ने र कार्यालयमा मागसहितको ब्यानर राख्ने काम गरिएको अध्यक्ष राईले बताए ।

कर्मचारीले उठाएका विभिन्न ११ बुँदे मागमा निजमती सेवा ऐन तत्काल जारी गर्नुपर्ने, क्षतिपूर्तिसहितको नागरिक सेवा प्रवाहको सुनिश्चिता गरिनुपर्ने, तीनै तहमा कार्यरत कर्मचारीलाई निजामतीको परिभाषामा समेट्नुपर्ने, तीनै तहमा तहगत प्रणाली लागु गर्नुपर्ने, अस्थायी, करार र ज्यालादारी कर्मचारीको न्यायोचित व्यवस्थापन गरिनुपर्नेलगायत छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार