भोजपुर, २५ वैशाख । प्रदेश १ सरकारको रु.चार करोड ८४ लाख लागतमा निर्माण भइरहेको दिंला बहुउद्धेश्याीय धर्मशालाको काम ९० प्रतिशत बढी सम्पन्न भएको छ । बालागुरु षडानन्दको जन्मभूमि भोजपुरको दिंलामा प्रदेश सरकारले धर्मशाला निर्माण शुरु गरेको हो ।
षडानन्दको पुन्यभूमिलाई विकास गर्ने लक्ष्यका साथ निर्माण गरिएको धर्मशाला निर्माणको काम ९० प्रतिशत सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । धर्मशालाको मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरेको करीव १४ महिनाको अवधीमा कामले तिव्रता पाएको हो । कामलाई यहि बैशाख महिना भित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको भएपनि भुक्तानीमा ढिलाइ भएको कारण केहि ढिला भएको निर्माण कम्पनी अरुण बरुणका प्रमुख प्रेम शेर्पाले जानकारी दिए । प्रमुख शेर्पाले भने,‘ निर्माण शुरु गरेको करीब १४ महिना भयो । हालसम्म ९० प्रतिशत काम सकिएको छ । भुक्तानीमा केहि ढिलाई भएकोले काममा केहि बाधा पुगेको छ । तरपनि यो महिनाभित्र सम्पूर्ण काम सक्ने लक्ष्य छ ।’
तीन तला रहेको भवन ३० मिटर लम्बाई र २० मिटर चौडाई रहेको छ । निर्माण अवधि आगामी असोज महिनासम्म भएपनि तोकिएको अवधि भन्दा अगाडी सक्ने लक्ष्य रहेको कम्पनीको भनाइ छ । धर्मशाला निर्माणले विभिन्न समयमा हुने मेला महोत्सव तथा अन्य विविध कार्यक्रमलाई व्यवस्थापन गर्न सहजता हुने जनाएको छ ।प्रदेश सरकारले विषेश महत्वका साथ योजना सञ्चालन गरिरहेकाले षडानन्द नगरपालिकाको विकासमा टेवा पुगेको षडानन्द नगरपालिका उप–प्रमुख मेरीका राईले बताइन् । उप–प्रमुख राईले भनिन्,‘यो बालागुरु षडानन्दले जन्म लिएको पुन्यभूमि हो । यहाँ विभिन्न समयमा धेरै धार्मिक कार्यक्रममा हुने गर्दछन् । धेरैको संख्यामा भक्तजनहरु आउने हुनाले बस्ने संरचना नहुँदा धेरै समस्या थियो । धर्मशाला निर्माणले आगामी दिनमा हुने कार्यक्रमको व्यवस्थापनमा सहज हुनेछ भने षडानन्द नगरपालिकाको विकासमा समेत टेवा पुग्ने देखिएको छ ।’ निर्माण भइरहेको धर्मशालाको अनुगमन तथा निर्माणका क्रममा आइपर्ने समस्याका विषयमा षडानन्द नगरपालिकाले पनि सहयोग गर्दै आएको छ । भवनलाई गुणस्तरिय तवरबाट समयमा सम्पन्न गराउन पहल गरिरहेको षडानन्द नगरपालिकाका प्रमुख बिरबल राईले बताए ।
धर्मशाला निर्माणको कुल लागत भ्याट बाहेक रु.चार करोड ८४ लाख रहेको छ । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको दिंला बजारको विकासमा प्रदेश सरकारले महत्वको साथ विभिन्न योजनाहरु सञ्चालनमा ल्याएसँगै स्थानीय उत्साहित बनेका छन् । षडानन्द सीताराम गुठीका अध्यक्ष कृष्णप्रसाद पौडेलले भने,‘ धर्मशाला निर्माणले यस क्षेत्रको गौरव बढेको छ । हामीले माग गरे अनुसार प्रदेश सरकारले बजेटको व्यवस्था गरेर निकै ठुलो लगानीमा यो संरचना निर्माण भइरहेको छ । अहिले हामी स्थानीयबासीमा उत्साह थपिएको छ।’