राष्ट्रिय शिक्षा नीतिले नै बालबालिकालाई निवासनजिकको विद्यालयमा अध्ययन गर्न प्रेरित गर्ने नीति लिएको छ । तर, विद्यालयको व्यापारमोह र अभिभावकको भ्रमले उपत्यकाका बालबालिका काठमाडौंको जाम र धुलोमा दैनिक अत्यासलाग्दो यात्रा गर्न बाध्य छन् ।घरबाट विद्यालय जाँदा र विद्यालयबाट घर फर्किँदा दैनिक चार घन्टा गाडीमै बिताउन बाध्य छन् बालबालिका । चर्को जाम छिचोल्दै, धुवाँ–धुलो खाँदै हुने यात्रामा गाडीमै निदाउँछन् । उनीहरूको विद्यालयमा पढ्ने समयभन्दा कष्टकर यात्रा बढी हुने गरेको छ । राम्रो विद्यालय रोज्ने नाममा अभिभावककै भ्रमले बालबालिकालाई यातना भइरहेको छ । बुढानीलकण्ठ क्षेत्रका अभिभावक चोभारदेखि धापाखेलसम्मका विद्यालयमा बालबच्चा पठाउँछन् । तर, चोभार र धापाखेलका अभिभावक फेरि बुढानीलकण्ठतिर दौडाउँछन् । कलंकी, सातदोबाटो, हात्तीवन क्षेत्रका अभिभावक नजिकका विद्यालय छाडेर कपनदेखि बाँसबारीसम्म कुदाउँछन् । उपत्यकाका ठूला भनिएका विद्यालयले यसरी टाढा–टाढाबाट विद्यार्थी ओसार्छन् । कीर्तिपुरको चोभारस्थित मोडर्न इन्डियन स्कुल विद्यार्थी बटुल्न दैनिक बुढानीलकण्ठदेखि हात्तीगौँडासम्म पुग्छ । बिहान ६ः५० बजेदेखि गाडीले विद्यार्थी बटुल्न थाल्छ । जहाँ माथिल्लो तहका मात्र होइन, प्रि–स्कुल ९केजी० मा अध्ययन गर्ने विद्यार्थी पनि हुन्छन् । ट्राफिक जाममा नपर्दा पनि कम्तीमा एकतर्फी यात्रा मात्रै दुई घन्टाको हुन्छ । कहिले त विद्यालयमा पढ्नभन्दा गाडीको यात्रामा बढी समय जान्छ ।काठमाडौंकै बाँसबारीस्थित द चाँदबाग स्कुलले उपत्यकाका तीनवटै जिल्लाबाट विद्यार्थी बटुल्छ । चाँदबागको बस विद्यार्थी टिप्न ललितपुरको सातदोबाटोदेखि हात्तीवनसम्म पुग्छ ।
तर, हात्तीवनकै लिटिल एन्जल्स स्कुल चाँदबाग भएकै क्षेत्रनजिक महाराजगन्जसम्म पुग्छ । लिटिल एन्जल्सले जोरपाटी, बालाजु, बाइपास, कलंकी, स्युचाटारलगायत क्षेत्रबाट विद्यार्थी सोहोर्छ । कपन र नयाँपाटी ९सुन्दरीजल जाने बाटो०मा रहेको ड्याफोडिल पब्लिक स्कुलको गाडी विद्यार्थी लिन कलंकीसम्मै पुग्छ । ललितपुरको धापाखेलस्थित जेम्स स्कुलले पनि बिहान ७ः०० बजेदेखि नै तीन जिल्लाबाट विद्यार्थी जम्मा गर्न बस खटाउँछ । जेम्सले कक्षा २ देखिका बालबालिका धुम्बाराही, सुकेधारा, बालाजु बाइपास, गोंगबु, वनस्थली, सीतापाइला, स्युचाटार, कलंकीलगायत क्षेत्रबाट उठाउने गरेको छ । ललितपुरकै आइडिएल मोडेल स्कुल भक्तपुरको मध्यपुर ठिमीलगायत क्षेत्रसम्म पुग्ने गरेको छ । मानभवनको एभिएम, ललितपुरको युनाइटेड एकेडेमी, जेभियर इन्टरनेसनल स्कुललगायत पनि उपत्यका फन्को मार्दै विद्यार्थी ओसार्छन् ।
यी त केही उदाहरण मात्रै हुन् । अभिभावकको भ्रममा सरकारको कमजोरी तथा शिक्षा मन्त्रालय र मन्त्रीभन्दा बलिया निजी विद्यालय सञ्चालक हुँदा कलिला बालबालिकामाथि गुणस्तरीय शिक्षाको नाममा दिनहुँ यातना भएको छ । बालबालिकाले विद्यालयमा दिउँसो खान लगेको टिफिन पनि लामो यात्रामा भोकाउँदा बसमै खाने गरेको अभिभावक बताउँछन् । ‘राम्रो होला कि भनेर टाढा–टाढासम्म पठाइएको छ, तर गाडीमै लामो यात्रा गर्दा थाकेर पढ्नै नसक्ने अवस्था पनि हुन्छ,’ एक अभिभावकले भने, ‘विद्यालय टाढा भएकै कारण बिहान सबेरै उठ्नुपर्छ, निद्रासमेत पुग्दैन ।’ उपत्यकामा बालबालिका बोक्न एउटै विद्यालयका सयभन्दा बढीसम्म बस प्रयोगमा छन् । कतिपय विद्यालयका आफ्नै बस छन् भने कतिपयले सार्वजनिक यातायातका साधन भाडामा लिएर विद्यार्थी ओसार्न प्रयोग गर्छन् ।
मोर्डन इन्डियन स्कुलले केजीदेखि कक्षा ६ सम्म २४ रुट बनाएर विद्यार्थी ओसार्ने गरेको छ । त्यस्तै, कक्षा ७ देखि १२ सम्मका विद्यार्थी २७ रुट बनाएर ओसार्छ । धापाखेलको जेम्स स्कुलले भने कक्षा १ मा सानेपाका लागि सात रुट बनाएर विद्यार्थी ओसार्दै आएको छ । कक्षा २ देखि ५ सम्म १७ र कक्षा ६ देखि १० सम्म ३० वटा रुट बनाएर विद्यार्थी ओसार्ने गरेको छ ।