सेनिटरी प्याड मेसिन जडानपछि विद्यालयमा छात्रा बढे


काठमाडौं, १८ फागुन । बैतडीको एक विद्यालयमा पहिलो पटक सेनेटरी प्याड मेसिन जडान गरिएको छ। डिलाशैनी गाउँपालिका (३ पङसेरास्थित महादेव माध्यमिक विद्यालयमा पहिलो पटक सेनिटरी प्याड (भेन्डिङ) मेसिन जडान गरिएपछि छात्राहरुको संख्या बढेको छ ।

महिनावारी भएको बेला विद्यालयका छात्रा तथा शिक्षिकाहरुलाई सजिलो होस भन्ने हेतुले मेसिन जडान गरिएको विद्यालयका शिक्षक धनीराम ओडले जानकारी दिएका छन् । गाउँपालिका उपाध्यक्ष पार्वती भण्डारी रानाले सेनेटरी प्याड मेसिन जडान भएपछि महिनावारी हुँदा विद्यालय नआउने चलन हट्ने बताइन्।

मेसिन जडान भएपछि महिनावारीका बेला पनि छात्राहरु नियमित विद्यालयमा आउने विद्यालयका प्रधानाध्यापक आशा पालको भनाइ छ । मेसिन जडान भएसँगै सबै छात्रा र शिक्षिकाहरुलाई स्मार्ट कार्डसमेत वितरण गरिएको छ।

डिलाशैनी गाउँपालिका, ग्रामीण जलश्रोत व्यवस्थापन परियोजना र अनिरुद्र ग्रामीण सुधार केन्द्रको संयुक्त लगानिमा मेसिन जडान गरिएको हो। करिब एक लाख १५ हजार रुपैयाँ लगानीमा जडान गरिएको मेसिनमा ५० वटा सेनिटरी प्याड हुने जनाइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार