पिउने पानीका लागि कुदुवासी दिनरात लाइनमा


जाजरकोट, ९ कात्तिक । जिल्लाको भेरी नगरपालिका १३ कुदुका वासिन्दालाइ चाडपर्वको कुनै परवाह छैन। गाउँमा खानेपानीको अभाव भएपछि उनीहरुलाइ दिन रात सवै समयमा पानीको जोहो गर्नका लागि खोला नदी र नजिकैका मुलमा लाइन वस्ने वाध्यता आइलागेको छ।

खानेपानीका लागि काकाकुल जस्तै वनेको कुदुका ४ सय ६५ घर परिवारका वासिन्दाले यो समस्या भोग्न थालेको वर्षौं भयो। गत वर्ष मात्र भेरी नगरपालिकालको लगानीमा जमिनमुनिवाट डिपवोरिङ प्रविधिवाट पानी निकालेर स्थानीयलाइ पानीको सुविधा भएको भएपनि अहिले भने फेरि पानीको अभाव भएको छ।

नगरपालिकाले निर्माणकम्पनीसंग गरेको सम्झौता अनुसार स्थानीयले सहज रुपमा पानी पाउन नसकेको पाइएको छ। कुदु स्थित स्वास्थ्यचौकीको आँगनमा १ सय ५३ मिटर गहिरो जमिन मुनिवाट निकालिएको पानी डेढ घन्टा सम्म मात्र निकाल्न सकिने भएपछि स्थानीयहरुलाइ पानीको पुरानै समस्याले सताउन थालेको स्थानीय रामवहादुर रोकायले बताए।

उनले विजुली नहुदा पनि पानी तान्न समस्या पर्ने गरेको र जमिन मुनिको पानी निस्चित डेढ घन्टाको समयसम्म मात्र आउने गरेपछि पुरानै समस्याले सताउन थालेको उनले बताए। कुदुका सवै जनतालाइ पुरयाउने गरि नगरपालिकाले जमिनमुनिको पानी निकाल्न गरेको योजनाले गतिलो काम नगरेको उनीहरुको गुनासो छ। सवैको घर घरमा धारा वनाएर उक्त इनारको पानी पुरयाउने भनिएपनि आवस्यकता अनुसारको पानी वाहिर निकाल्न नसकिएको बताइएको छ।

यस्तै पानीकै लागि विहान, दिउसो र राति भाडाकुडा लाइनमा राखेर पर्खिनुपर्दा आफुहरु निकै हैरानीमा पर्ने गरेको स्थानीय प्रमिला वटालाले बताइन्। उनले कुदुको पानीको लागि कुनै स्थायी उपाया नभए सम्म शान्तसंग बस्न नै नपाइने अवस्था आइपरेको गुनासो समेत गरिन्। पिउने पानीकै जोहो गर्न दिन भरिको समय खर्चिनुपर्दा यसले महिला तथा वालवालिकाहरु बढी प्रभावित भएको उनले बताइन्। उतावाट तिहार पर्व आइसक्यो तर हामीलाइ भने प्रत्यक दिन पानीको लागि यहाँ लाइन वस्नै ठिक्क छ हाम्रो वेथा कसले सुनिदिने।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार