शैक्षिक भ्रमणको बजेट रकमान्तर गरेर गाउँपालिकाको टोली भारत भ्रमणमा


टीकापुर, १६ साउन । जानकी गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र प्रधानाध्यापकहरुको जम्बो टोली शैक्षिक भ्रमणका नाममा भारतका विभिन्न शहर घुमेर फर्किएको छ। सो टोलीले भारत भ्रमणका क्रममा विभिन्न पर्यटकीय क्षेत्रको अवलोकन गर्नुका साथै तिर्थाटन समेत गरेको छ।

टोलीले भारतको आग्रा, दिल्ली, देहरादुन, नैनिताल, मथुराको विन्द्रावन, हरिद्वार क्षेत्रको भ्रमण गरेको बताइएको छ। गाउँपालिकाको बजेटमा साउन ८ गते निस्किएको टोली विभिन्न ठाउँको भ्रमण गरेर साउन १२ गते फर्किएको छ। तर टोलीको भ्रमण तालिका भने साउन १४ गतेसम्म रहेको थियो। वर्षातका कारण भ्रमण समय छोट्याएर फर्किएको गाउँपालिका शिक्षा शाखा प्रमुख कलमबहादुर खड्काले जानकारी दिए।टोलीमा कार्यपालिका सदस्य लक्ष्मण चौधरी सहित ५ जना जनप्रतिनिधि र कर्मचारीका साथै ३१ जना विभिन्न विद्यालयका प्रधानाध्यापक रहेका छन। प्रधानाध्यापकमा विभिन्न सरकारी र निजि विद्यालयमा कार्यरत छन। भ्रमणमा जाने सूचीमा रहेका केही प्रधानाध्यापकहरु भने गएनन्।गाउँपालिका अध्यक्ष प्रदिप चौधरीका अनुसार गत आर्थिक वर्षमा शैक्षिक भ्रमण शिर्षकमा ४ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। तर प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर बिष्टले भने सो रकम ३ लाख मात्रै भएको बताए। जसको उद्देश्य सुदूरपश्चिम प्रदेशका नमूना विद्यालयको अवलोकन गरेर सोही अनुसारको विद्यालय सञ्चालन गर्नु थियो। सोही बजेट लिएर जम्बो टोली भारत भ्रमणमा निस्किएको हो।

गत आर्थिक वर्षमा भ्रमण सम्भव नभएपछि शिक्षा शाखा प्रमुख खड्काले असार महिनामै आफ्ना नाममा पेश्की लगेका थिए। उनले आफ्ना नाममा १ लाख ७० हजार पेश्की लगेको बताए। ‘विद्यार्थीको परिक्षाका कारण त्यो बेला भ्रमण गर्न सकिएन’ उनले भने–‘वर्षा विदाको मौका पारेर भ्रमण गरेका हौं। ’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार