
संखुवासभा, २४ जेठ । संखुवासभाको सदरमुकाम खाँदबारी बजारबाट तास खेल्दै गरेको एक समूहलाई प्रहरीले पक्राउ गरेको छ। तास खेलिरहेको अवस्थामा प्रहरीले घर धनी पोषराज पोख्रेलसहित ९ जनालाई बिहीबार साँझ ५ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामेश्वर पण्डितले जानकारी दिए। प्रहरी निरीक्षक पण्डितले पक्राउ परेका अन्य व्यक्तिको नाम भने खुलाउन चाहेनन्। प्रहरीले तासको खालबाट नगद ७० हजार सात सय ४० रुपैयाँसमेत बरामद गरेको जनाएको छ। पक्राउ परेका व्यक्तिलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





















