
पर्सा, २३ वैशाख । जिल्ला प्रहरी कार्यालय पर्सा मातहत रहेको प्रहरीले अवैध लागु औषधसहित ३ अभियुक्तलाई पक्राउ गरेको छ। जिल्लाको वीरगन्ज महानगरपालिका ३१ मिलनचौक र महानगरपालिकाकै ८ घण्टाघर चोकनजिकबाट ३ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो। अवैध लागु औषधसहित पक्राउ पर्नेहरूमा मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिका १ बस्ने २० वर्षीया मार्था मोक्तान, सोही ठाउँका २४ वर्षीय सन्देश गोले र वीरगन्ज महानगरपालिका १० का २१ वर्षीय रोशनकुमार कानु रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बताए। अभियुक्तहरू मध्ये मोक्तान र गोलेले २० केजी गाँजा बोकी पर्साको मिलनचौकबाट भारततर्फ जान लागेको अवस्थामा पक्राउ परेका हुन्। कानूले भारतबाट तयारी अवस्थाको ७५ थान नाइट्रोभेट ट्याब्लेट लिएर वीरगन्जको घण्टाघरबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक शर्माले बताए। पक्राउ परेका तीनैजना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयमा राखी लागु औषध मुद्दामा थप अनुसन्धान र कारवाही अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक शर्माले बताए। पछिल्लो समयमा कारोवारी र प्रयोगकर्ताले प्रहरीलाई शंका नहोस् भनी पैदल हिड्ने गरेको उनको भनाइ छ।

















