सेना प्रमुख सुवेदारमा चौधरीको छनोट


काठमाडौँ, २० फागुन । नेपाली सेनाले प्रतिस्पर्धाका आधारमा पहिलो पटक सेना प्रमुख सुवेदारको छनोट गरेको छ । मुलुकभरका गण र गुल्मका सुवेदार–मेजरमध्येबाट प्रतिस्पर्धाका आधारमा २४ नम्बर बाहिनी अङ्डाका सुवेदार मनोजकुमार चौधरी उक्त पदमा छनोट हुनुभएको नेपाली सेनाका प्रवक्ता यामप्रसाद ढकालले जानकारी दिनुभयो ।

प्रधानसेनापतिको कार्यालयमा रही पदिक र तल्लो तहका सकल दर्जाका हक, हितका लागि सरसल्लाह गरेर सेनाप्रमुख समक्ष सिधै जानकारी गराउन सक्ने अधिकार रहको उक्त पद सेनाभित्र निकै महत्वपूर्ण मानिन्छ । यसअघि प्रधानसेनापतिले आफूले कमाण्ड गरेको पल्टन वा आफूले चाहेको व्यक्तिलाई जङगी अड्डाको सुवेदार–मेजरमा ल्याउने चलन रही आएको थियो । पदिकदेखि तल्लो तहसम्मका सकल दर्जाको खटन÷पटनदेखि आर्थिक व्यवस्थापनसमेत रहने सुवेदार–मेजरलाई सेनाभित्र निकै जिम्मेवारीको पद मानिन्छ ।

आफूभन्दा माथिल्लो तहमा रहेपनि सहायक सेनानीदेखि गणपतिसम्मलाई आवश्यक सरसल्लाहसहित अनुशासन र सैनिक आचरणमा रहन प्रेरित गर्ने जिम्मेवारीसमेत रहने हुनाले तल्लो तहमा भर्ना भएका प्रत्येक सैनिकले कम्तिमा पनि सुवेदार–मेजर हुने आकाङ्क्षा राख्ने गरेका छन् । नेपाली सेनामा तालीम, बढुवा, जिम्मेवारीलाई बस्तुनिष्ट र पारदर्शी तुल्याउने क्रममा पहिलो पटक सेना प्रमुख सुवेदारको छनोट भएको प्रवक्ता ढकालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार