एमाले र माओवादी एकता अन्तिम बिन्दुमा, यस्तो हुँदैछ सहमति


काठमाडौं, २३ वैसाख । नेकपा एमाले र माओवादी केन्द्रको एकता घोषणा अन्तिम बिन्दुमा पुगेको छ । दुबै पक्ष नमिलेको बिषयपछि महाधिवेशनबाट छिनोफानो गर्ने गरी एकता घोषणाको तयारीमा जुटेका छन् ।

नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता घोषणामा भइरहेको ढिलाईले विभिन्न शंका उत्पन्न भएको छ । तत्लो तप्का नेता, कार्यकर्ता र शुचेच्छुकहरुले एकता भाँडिने त होइन रु भन्ने चिन्ता गर्न थालेका छन् ।

एमाले र माओवादी केन्द्रबीच नेतृत्व बाँडफाँडको विवादले एकता घोषणामा ढिलाई भएको प्रसङ्ग समेत उठ्न थालेको तर दुबै पार्टीका शिर्ष नेतृत्वले भने एकतामा कुनै विवाद नभएको दाबी गर्दै आएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मुलुकको समृद्धिको लागि कम्युनिष्ट पार्टीहरुबीचको एकता अनिवार्य आवश्कता भएको बताउँदै आउनु भएको छ । ‘कसैले थाहै नपाउने गरी एकता घोषणा हुन्छ’ उहाँले भन्ने गर्नुभएको छ, ‘एमाले र माओवादी केन्द्रको एकता घोषणापछि यसमा अन्य पार्टीलाई पनि समेट्दै जान्छौ । एकाध बाहेक सबै दल एकतामा आउँछन् ।’

धेरै वर्षको प्रयासपछि एमाले र माओवादीले गएको पछि पार्टी एकता गर्ने सहमतिसहित असोज १७ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गरेर त्यसलाई वाम गठबन्धनको नाम दिइयो ।

वाम गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा लक्ष्य अनुसारको बहुमत प्राप्त गर्यो । त्यसपछि सरकार गठन र एकता प्रकृया सँगसँगै अगाडि बढ्यो । एकतालाई निश्कर्षमा पुर्याउनको एकता संयोजक समिति बनाइएको थियो । समितिको दुई महिनाको निरन्तर छलफल र प्रयासपछि एमाले र माओवादी केन्द्रले गएको फागुन ७ गते एकतामा प्रतिवद्धता जनाउँदै बुँदे सहमति गरे । मध्यरातमा गरिएको त्यो सहमतिले एकतालाई पक्कापक्की गर्दै एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको संयोजकत्वमा वैचारिक कार्यदल र गृहमन्त्री तथा माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलको संयोजकत्वमा संगठनात्मक कार्यदल गर्यो ।

कार्यदलले सुझावसहितको प्रतिवेदन नेतृत्वलाई एक महिना अघि नै बुझाइसकेको छ । कार्यदलको प्रतिवेदनपछि एमाले र माअ‍ोवादी केन्द्रले लेलिन दिवसको अवसर पारेर बैशाख ९ गते एकता घोषणा गर्ने योजना बनाएका थिए । तर नेतृत्व नटुंगिँदा त्यसदिन एकता घोषणा हुन सकेन र एमाले र माओवादी केन्द्रले संयुक्त सम्बोधन गरेर एकताप्रति प्रतिवद्धता जाहेर गरे ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल एकता घोषणाको लागि कार्यदलको प्रतिवेदन दुबै पार्टीले छुट्टाछुट्टै रुपमा पारित गर्नुपर्ने र स्थायी तथा कन्द्रीय समिति बनाउनु पर्ने बताउनु हुन्छ । ‘एकता घोषणा गर्नुअघि कम्तीमा स्थायी कमिटी त चाहियो नी’ उहाँ भन्नुहुन्छ, ‘यी कार्य पुरा नभएपछि मात्र एकता घोषण हुन्छ ।एकता घोषणाको लागि शिर्ष नेतृत्वबीच निरन्तर छलफल हुँदै आएको छ । दुबै पक्ष नमिलेको बिषय महाधिवेशनबाट टुंग्याउने गरी एकता घोषणा गर्ने तयारीमा लागेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार