भोजपुर, १३ चैत्र । जिल्ला वन कार्यालय भोजपुरमा दर्वन्दी अनुसारका कर्मचारी नहुँदा दैनिक कामकाज सञ्चालनमा समस्या भएको छ । कार्यालयमा विभिन्न पदहरु रिक्त भए पनि समयमा पदपूर्ती नहुँदा समस्या भएको हो । धेरै जना कर्मचारीको पद रिक्त हुँदा हाल भएका कर्मचारीलाई कार्यभार वढेको कार्यालयले जनाएको छ ।
कार्यालयमा सहायक वन अधिकृतका लागि ८ ओटा दर्वन्दी रहेको भए पनि हाल २ जना मात्र छन् । त्यस्तै रेन्जर तीन जनाको दर्वन्दी रहेपनि एक जना, वनरक्षक ३२ जना हुनु पर्नेमा २४ जना मात्र रहेको कार्यालयको भनाई छ ।
त्यसै गरि फोरेस्टर नौ जनाको दर्वन्दी रहेकोमा पाँच जना, नायव शुव्वा एक र एक जना खरिदारको पनि पद खाली रहेको कार्यलयका सुचना अधिकारी श्रीनारायण यादवले जानकारी दिए ।
पदपूर्तीको लागि विभागमा जानकारी गराएको भए पनि हाल सम्म पदपूर्ती हुन नसकेको उनको भनाई छ । जिल्लाका अन्य कार्यालयमा पनि दर्वन्दी अनुसारको कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या हुने गरेको छ ।