उदयपुर १२ चैत । उदयपुरको चौदण्डीगढी नगरपालिकाका एक वडाध्यक्षमाथि अर्का वडाध्यक्षले आक्रमण गरेका हुन्।
आईतबार दिउँसो नगर कार्यपालिकाको बैठक चलिरहेका बेला भएको सामान्य बिबादको क्रममा वडा नम्बर १० का वडाध्यक्ष रामकुमार खड्काले ९ नम्बर वडाध्यक्ष प्रकाश राउतमाथि खानेपानीको बोतल प्रहार गरेका हुन्।
‘सौहाद्र्रपूर्ण तरिकाले बैठक चलिरहेको थियो, छलफलको क्रममा सामान्य बिबाद भयो’ बैठकमा सहभागी २ नम्बर वडाध्यक्ष सन्तोष सुवेदीले भने ‘विवादकै क्रममा वडाध्यक्ष खड्काले अर्का वडाध्यक्ष राउतमाथि मिनिरल वाटरको बोतलले प्रहार गर्नुभयो।’
बैठक बस्दा खानलाई दिइएको पानीको बोतलै उठाएर आफुमाथि प्रहार गरेपछि प्रतिकारमा राउतले पनि आफ्नो अघि रहेको बोतलले खड्कालाई प्रहार गरेका थिए।
खड्का नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्ष जितेका हुन् भने राउत एमालेबाट जितेका हुन्। दुवै वडा छिमेकी साविक हडिया गाविसका हुन्। बैठकमा सहभागी सदस्यका अनुसार खासै ठूलो विषयमा बिबाद भएको भने होईन। आउँदो १५ गते हुन गईरहेको दोस्रो नगरसभा अधिवेशनमा योजनारलाई विनियोजन गर्ने रकमको विषयमा छलफल हुँदाहुँदै दुईबीच भनाभन सुरु भएको थियो। भनाभनकै क्रममा बोतल प्रहार भएपछि बैठक खल्बलिन पुगेको सुवेदीले बताए।
नगरप्रमुख खगेन्द्र राईले भने बैठकमा दुई वडाध्यक्षबीच भएको बिबाद सामान्य भएको बताए। उनका अनुसार नगर कार्यकारी बोर्ड बैठक चल्दै गर्दा ९ नम्बर वडामा प्रस्तावित अस्पताल भवनसम्बन्धी छलफलमा राउत र खड्काबीच सामान्य भनाभन भएको हो।
‘नगर कार्यपालिका बोर्ड बैठक चल्दैगर्दा कार्यकारी सदस्य डोमा शेर्पाबाट अस्पताल भवनको विषयमा प्रस्ताव राख्नुभयो’ मेयर राईले भने ‘त्यो विषयमा वडाध्यक्ष राउतको भनाईले बिबाद भएको हो, बैठकमा यत्ति हुनु भनेको सामान्य बुझ्नुपर्छ।’
उनले बोतल प्रहार भएको कुरा भने पुष्टि गरे। वडाध्यक्ष राउतले अशिष्ट भाषामा गाली गरेपछि अर्का वडाध्यक्ष खड्काले खाली बोतल प्रहार गरेको र प्रतिकारमा राउतले बोतल प्रहार गर्दा आफ्नो टेवलसम्म आएर पानी पोखिएको मेयर राईले बताए।