भोजपुरमा कुटपीटको कारण मृत्यु भए पछि, चार जना विरुद्ध कर्तव्य ज्यान मुद्धा…


भोजपुर, १२ चैत्र ।

कुटपीटको कारण एक जनाको मृत्यु भए पछि जिल्ला प्रहरी कार्यालय भोजपुरले चार जनालाई कर्तव्य ज्यानमा मुद्धा चलाएको छ ।
गत चैत्र ४ गते टेम्केमैयुङ्ग गाउँपालिका –५ चोलन्तीका ३९ वर्षीय धनहर्क राईको उनीहरुको कुटपीटको कारण मृत्यु भएको आरोपमा प्रहरीले नियन्त्रणमा लिई मुद्धा चलाएको हो ।

पक्राउ पर्नेमा स्थानिय ३१ वर्षीय भिमसेन राई, ३८ वर्षीय धर्मराज राई, ३१ वर्षीय दिपेन्द्र राई, र ६९ वर्षीय भिम कुमारी राई रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
उनिहरुले मृतक राईलाई कुटपीट गरेपछि घटनालाई स्थानिय रुपमा मिलाएर रुखबाट लडेर घाइते भएको भन्ने जानकारी गराएका थिए । तर जिल्ला अस्पतालमा उपचारमा रहेका घाइते राईको विषयमा अनुसन्धान गर्दा कुटपीट भएको खुल्न आएको प्रहरीको भनाई छ ।

जिल्ला अस्पतालमा उपचार हुन नसके पछि घाइते राईलाई थप उपचारको लागि चैत्र ८ गते विराटनगरको लागिएको थियो ।

तर राईको उपचारको क्रममा चैत्र ९ गते मृत्यु भए पछि प्रहरीले दुई जनालाई विराटनगर र अन्य दुईलाई घरबाट नियन्त्रणमा लिएको हो । कुटपीट पछि घाइते भएका राईको विराटनगरमा रहेको ग्रीनक्रस हस्पीटलमा मृत्यु भएको प्रहरीको भनाई छ ।

उनिहरुलाई कर्तव्य ज्यानमा मुद्धा चलाई जिल्ला अदालतबाट ९ गते देखि दश दिन म्याद गरी थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार