खोटाङ, १२ फागुन ।
त्रि–धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसी आसपासमा सार्वजनिक एबं सडकको जग्गा अतिक्रमण गरेर निर्माण गरिएका टहरा भत्काउन थालिएको छ ।
अस्तव्यास्त संरचना हटाउँदै हलेसीलाई सुन्दर धार्मिक नगरीकारुपमा बिकास गर्ने लक्ष्यकासाथ हलेसी तुवाचुङ नगरपालिकाले शुक्रबारदेखि सार्वजनिक एबं सडकको जग्गा अतिक्रमण गरेर बनाइएको टहरा लगायतका संरचना हटाउन थालिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । मेयर राईले भने, ‘मापदण्ड बिपरितका संरचना हटाउनका लागि चौथोपल्ट दिएको म्याद बित्दा समेत अटेर गरेको पाइएपछि डोजर लगाएर टहरा भत्काउन थालिएको हो ।’
सुरक्षाकर्मी सहित हलेसी पुगेका सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुबेदीको उपस्थितिमा नगरपालिकाले टहरा भत्काउन सुरु गरेको हो । नगरपालिकाले हलेसी आसपासका २१ स्थानीयको २३ वटा टहरा भत्काएको छ । नगरले बाँकी टहरा पनि क्रमशः भत्काउने तयारी गरेको छ । सार्वजनिक सुचना प्रकाशन, सूचना टाँस एबं माइकिङ गरेर आग्रह गर्दा समेत टहरा हटाउन अटेर गरिएपछि नगरले बल प्रयोग गरेर टहरा भतकाउन थालेको हो ।