
विराटनगर, २२ माघ । नेकपा एमालेको उद्मथलो मानिने प्रदेश १ को मुख्यमन्त्री चयन प्रक्रियामा सहमति जुटाउन पार्टीको प्रदेश कमिटी असफल भएको छ ।
भीम आचार्य र शेरधन राईबीच सहमति हुन नसकेपछि प्रदेशसभाको पहिलो बैठकअघि सोमवार बिहान बसेको प्रदेश कमिटी सचिवालय बैठकमा तेस्रो विकल्पसमेत प्रस्तुत भयो ।
सचिवालय बैठकमा केन्द्रीय सदस्य तथा ओखलढुंगाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारले दुई नेताबीच सर्वसम्मति हुन नसके तेस्रो नेतालाई मुख्यमन्त्री बनाउने विकल्प प्रस्तुत गरेका हुन् ।
उनले तेस्रो विकल्पका रुपमा हिक्मत कार्की र राजेन्द्र राईमध्ये एकलाई बनाउन प्रस्ताव गरेको स्रोतले जनाएको छ ।
कार्की र राई दुवै अनेरास्ववियुका पूर्वअध्यक्ष हुन् । पार्टीभित्र कार्की संस्थापन पक्षका हुन् भने राई माधव नेपाल पक्षका हुन् ।
संसदीय दलको नेतामा माधव नेपाल पक्षकै केन्द्रीय सदस्य तथा मोरङका सांसद जीवन घिमिरेले पनि दाबी नछाडेपछि सहमतिको सम्भावना लगभग सकिएको छ ।
सोमवार जेष्ठ सदस्य सर्वध्वज साँवा लिम्बुको अध्यक्षतामा एमाले संसदीय दलको बैठक बसेको थियो । अब २६ गते पनि उनकै अध्यक्षतामा बैठक बसेर दलको नेता चयनका लागि निर्वाचन हुनेछ ।
९३ सदस्यीय प्रदेशसभामा एमालेका ५१ सांसद छन् ।
नेताकै प्रदेशमा नेता विवाद
प्रदेश १ एमालेको उद्गमथलो यसकारण हो कि, तत्कालीन झापा बिद्रोह यहीँबाट शुरु भएको थियो । झापा विद्रोह गर्ने नेतृत्व नै नै कालान्तरमा गएर नेकपा माले हुँदै हालको एमालेको स्वरुपमा पुगेको हो । एमालेको नेतृत्वमा झापा विद्रोहका अगुवाहरु नै अहिलेसम्म बर्चश्व कायम गरिरहेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल, पूर्वसभामुख तथा एमालेका उपनेता सुवास नेम्वाङ पनि यही प्रदेशका हुन् ।
त्यस्तै पार्टी सचिव योगेश भट्टराई, प्रभावशाली नेता भानुभक्त ढकाल, लालबाबु पण्डित पनि यही प्रदेशबाट एमालेको केन्द्रीय राजनीतिमा प्रतिनिधित्व गर्छन् ।
प्रदेश १ को मुख्यमन्त्रीका लागि सहमति जुटाउन माथिल्ला नेताले चासो नदिएको गुनासो यहाँका नेताले गरेका छन् । ‘माथिका नेताहरुले सहमति गराउन चाहने हो भने कुनै समस्या छैन,’ प्रदेशसभाका एक सदस्यले अनलाइनखबरसँग भने, ‘तर कुनै गुटले पनि सहमतिका लागि पहल गरेको देखिएन ।अनलाइन खवरबाट