
ओखलढुंगा, २२ माघ – जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले हत्या गरी गाडिएको व्यक्तिको शव उत्खनन् गरेर अभियुक्त विरुद्ध कर्तव्य ज्यान मुद्दा चलाएको छ । फरेन्सिक मेडिसिन विभागका विशेषज्ञसहितको टोलीले हत्या गरी गाडिएको शव उत्खनन् गरेर डिएनए परीक्षण गरी मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक टिकाबहादुर कार्कीले जानकारी दिनुभयो ।
विवाहमा विवाद हुँदा ०७१ साल वैशाख १० गते कुटपिटपछि मृत्यु भएका चिसंखुगढी गाउँपालिका वडा नम्बर ८ माम्खाका खिरमान भनिने सुरधन राईको शव तीन वर्षपछि उत्खनन् गरेर आरोपित गिरफ्तार गरेको प्रहरी निरीक्षक कार्कीको भनाई छ । शव उत्खनन्मा विभागका डाक्टर रिजन श्रेष्ठ, मणी महर्जन, कष्चेव श्रेष्ठ र प्रहरी नायव उपरिक्षक अर्जुन तिमिल्सिनासहितको टोलीले ०७४ कात्तिक १६ गते शव उत्खनन् गरेको थियो । डिएनए परीक्षणबाट मृतककै शव भएको प्रमाणित भएको तिमिल्सिनाले बताउनुभयो ।
जिल्ला सरकारी वकिल कार्यालयले शव उत्खनन् गरेर अनुसन्धान गर्न निर्देशन दिएपछि विशेषज्ञसहितको टोलीले उत्खनन् गरेर ०७४ मंसिर ८ गते अभियुक्त मध्येका एक गौधन राईलाई पक्राउ गरी पुर्पक्षका लागि कारागार चलान गरिएको छ । एक जना आरोपित फरार छन् । विवाहमा विवाद हुँदा माम्खा ८ का गौधन राई र जीजबहादुर राईले गुन्द्रीको विषयलाई लिएर कुटपिट गरेका थिए । कुटपीटबाट घाइते राईको एक दिनपछि ०७१ वैशाख ११ गते ज्यान गएको थियो । घटनापछि छिमेकीले परिवारकै सहमतिमा दाहसंस्कार गरेका थिए । छिमेकीहरुले हुलाकबाट उजुरी पठाएका थिए । पछि प्रहरीले उजुरी दर्ता गरेको थियो । राष्ट्रिय मानवअधिकार आयोग र प्रहरी प्रधान कार्यालयले समेत उजुरी दर्ता गर्न दवाव दिएपछि प्रहरीले ०७३ जेठ १० गते कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो । कर्तव्य ज्यान मुद्दामा शव नै उत्खनन् गरेर मुद्दा चलाएको यो प्रदेश नम्बर १ कै पहिलो घटना भएको प्रहरीले दावी गरेको छ ।