घोडेटारमा नेपाल टेलिकमको टावरमा विद्युत जडान नहुँदा समस्या, किन जडान भएन विद्युत ?


भोजपुर, १९ माघ ।
भोजपुरको घोडेटारमा रहेको नेपाल टेलिकमको टावरले प्रभावकारी ढंगले काम नगरेको स्थानियले गुनासो गरेका छन् । टावरमा सोलार प्रणाली मात्र जडान गरिएको कारण वादल लागेको समयमा सेवा प्रवाहमा समस्या भएको हो । सो स्थानमा विद्युत विस्तार गरिएको भए पनि विद्युत जडान नगरिदा सेवा प्रवाहमा समस्या भएको स्थानियको भनाई छ । साथै टावरमा तत्काल विद्युत जडान गरि सेवालाई प्रभावकारी वनाउन स्थानियले माग गरेका छन् ।
यता नेपाल टेलिकम भोजपुरले सो टावरले स्थानियले भने जस्तै नै प्रभावकारी ढंगले काम नगरेको स्वीकार गरेको छ । टावरमा जडान गरिएको सोलार प्रणालीले वादल लागेको समयमा प्रभावकारी ढङ्गबाट काम नगरेकोले त्यस टावरमा विद्युत जडान गर्ने तयारी भईरहेको जनाएको छ । नेपाल टेलिकम भोजपुर साखाका प्रमुख रामसेवक यादवले विद्युत जडानको काम गरिने वताएका छन् ।

उनले भने ‘स्थानियले गरेको गुनासो सही हो, सो क्षेत्रमा समस्या छ, हामीले त्यस टावरमा विद्युत जडानको लागि पौष २५ गते नेपाल विद्युत प्राधिकरण भोजपुर वितरण केन्द्रमा निवेदन दिएका छौ। तर प्राधिकरणले थ्री फेज मिटर नभएको भन्ने जानकारी दिएको छ । मिटर आउने वित्तिकै हामी त्यहा विद्युत जडान गर्छौ ।’
यादवले घोडेटारसंगै ओख्रे र याकुमा रहेको टावरमा पनि विद्युत जडान गर्ने तयारी रहेको वताएका छन् तर विद्युत प्राधिकरण भोजपुर वितरण केन्द्र समयमा समग्री उपलव्ध नगराउदा जडान कार्यमा ढिला भएको उनको भनाई छ ।
यता नेपाल विद्युत प्राधिकरण भोजपुर वितरण केन्द्रका प्रमुख खगेन्द्र भण्डारीले पनि विद्युत जडान गरि दिनको लागि निवेदन आएको वताएका छन् । भण्डारीले भने‘ हामीलाई निवेदन आएको छ, तर हाल हामीसंग थ्री फेज मिटर छैन, विराटनगरबाट मिटर ल्याएर एक हप्ता भित्रमा दिन्छौ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार