भोजपुर, १८ माघ ।
जिल्ला प्रसासन कार्यालय भोजपुरले जनतालाई घर दैलोमा पुगेर सेवा दिने लक्ष्यका साथ घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । प्रसासनले यहि माघ २० गते अरुण गाउँपालिकाको प्याउली र २७ गते पौवादुङ्मा गाउँपालिकाको सानोदुम्मामा घुम्ती शिविर सञ्चालन गर्न लागेको जनाएको छ ।
शिविरमा विषेश गरेर नागरिकताको प्रमाण पत्र, आपङ्गता परिचय पत्र वितरणसंगै अन्य विषयगत कार्यालयले पनि विविध सेवा दिने जनाइएको छ । शिविरमा जिल्ला प्रसासन, सुरक्षा निकायसंगै महिला विकास कार्यालय, विद्युत, खानेपानी, जिल्ला कृषि विकास कार्यालय, पशु सेवा लगाएत कार्यालयको पनि सहभागिता रहने सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए ।
प्याउलीमा हुने कार्यक्रममा सार्वजनिक सुनुवाई समेत हुने सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेको भनाई छ । मिति तय नभएको भए पनि यसपछि जिल्लाको अन्य ठाउँमा पनि घुम्ती शिविर सञ्चालन गर्ने तयारी रहेको जिल्ला प्रसासनले जनाएको छ ।