काठमांडौ, १५ माघ ।
‘भोजपुर हातेमालो समाज युएई’ले भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका – ८ गोगनेकी शान्ता राईलाई थप रकम १८ हजार ५ सय सहयोग गरेको छ । समाजका सदस्य राजिन राईले संकलित रकम काठमांडौ शिक्षण अस्पतालमा उपचार गराइरहेकी शान्ता राईलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । समाजले यस अघि पनि उनको उपचारको लागि ४० हजार रकम हस्तान्तरण गरको थियो । राईको परिवार गोगनेमा जन्मभई हाल धरानमा अस्थाई रुपमा वस्दै आएको छ ।
वैदेशिक रोजगारिका क्रममा ३ वर्ष अघि ईराक पुगेकी राईलाई घरेलु कामदारको रुपमा रहँदा मालिकले शारिरिक यातना दिँदा चिन्ताजनक रुपमा नेपाल फर्काइएको थियो ।
मालिकको यातनाको कारण गम्भिर घाइते अवस्थामा नेपाल आएकी राईको ढाड र दुवै खुट्टामा समस्या देखिएको थियो । हाल ढाँड र दुवै खुट्टामा गम्भिर समस्या देखिएको उनको धरानमा दुई हप्ता उपचार पछि काठमाण्डौ स्थित शिक्षण अस्पतालमा उपचार भईरहेको छ । आर्थिक समस्याका कारण जीविकोपार्जनको लागि विदेशिएकी राई यातनाका कारण जटिल समस्यामा परेकाले उनको उपचारको लागि युएई समाजले रकम सहयोग गर्ने निर्णय गरेको समाजका महासचिव तिर्थ योन्जनले जानकारी दिए ।
दुवै चरण गरि ५८ हजार ५ सय रकम सहयोग गरिएको समाजका कार्यक्रम संयोजक अवतार योन्जनले वताए । संयोजक योन्जनका अनुसार युएईमा कार्यरत भोजपुरेहरुको संलग्नतामा स्थापित भोजपुर हातेमालो समाज युएईले सामाजिक क्षेत्रकामा विविध काम गरिरहेको छ ।