गाउँपालिका अध्यक्षमाथि सुतेकै ठाउँमा आक्रमण


ओखलढुंगा, २८चैत्र । –ओखलढुंगाको लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द पौडेलमाथि सुतेकै ठाउँमा आक्रमण भएको छ ।

मंगलबार राति १० बजे अपरिचित समूहबाट अध्यक्ष पौडेलमाथि सुतेकै ठाउँमा आक्रमण भएको हो । घाइते अध्यक्षको मंगलबार राती नै स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार गराइएको लिखु गाउँपालिकाका उपाध्यक्ष शान्ता ढुंगेलले जानकारी दिए ।

गाउँपालिका कार्यालयको क्वार्टरमा सुतिरहेको अवस्थामा अपरिचित समूहले कोठाबाट बाहिर बोलाएर आफूमाथि कुटपीट गरेको अध्यक्ष पौडेलले वताए । ‘म निवासमै सुतिरहेको थिएँ, बाहिर निस्कनुस् अंकल जरुरी काम छ भनेपछि म कोही नागरिक दुःख पाएर आए भन्ने ठानेर बाहिर निस्केको थिएँ’ अध्यक्ष पौडेलले टेलिफोनमा भने–‘ढोकाबाट बाहिर निस्कनासाथ ममाथि आक्रमण भयो ।’

पौडेललाई गाउँपालिकाको वडा नम्बर – ९ पोकलीबाट आएको बताउने ४ जनाको समूहले मुङ्ग्रोले हानेर घाइते बनाएका हुन् । स्वास्थ्य अवस्था सामान्य रहेकाले प्राथमिक उपचारपछि बिहीबार मात्रै थप उपचारका लागि काठमाडौं जाने उनले वताए ।

आक्रमणबाट घाइते गाउँपालिका अध्यक्ष पौडेलको बायाँ घुँडामा ४ टाँका लगाइएको छ भने तिघ्रा र खुट्टामा गहिरो चोट लागेको छ । हातको कान्छी औंलाको नङ सहितको भाग फुटेको छ ।

घटनाको अनुसन्धान भैरहेको जिल्ला प्रहरी प्रमुख अनन्तराम शर्माले वताए । ‘हामीले स्थलगत अनुसन्धान थालेका छौं’ शर्माले भने ‘अपराधी पत्ता लगाएर कारवाहीको दायरामा ल्याउँछौं ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार