खोटाङ्गमा पसल चोरी


खोटाङ, १६ चैत्र।

खोटाङ सदरमुकाम दिक्तेलमा श्रृंखलावद्ध चोरीका घट्ना बढेको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयकै अगाडी बिहिबार राती दिक्तेलका दुई पसलको ताला फोडेर चोरी भएको छ ।

दिक्तेलबजारका व्यवसायी गुणराज शैंजू र दिबेश चौधरीको किराना पसल चोरी भएको हो । चौधरीको नगद १२ हजार, ६ बोतल बियर र ६/७ प्याकेट चुरोट तथा सैंजूको एक हजार चोरी भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक चन्द्रभूषण यादवले बताए ।

यस्तै, दिक्तेलस्थित लालुपाते सहकारी संस्था, निदेश दाहालको मोबाईल पसल र सरोज बिकको मोबाईल पसलको ताला फोडिएको छ । यसअघि साउन यता दिक्तेल अम्बागाछीस्थित रमेश बिकको न्यू हलेसी सुनचाँदी पसलबाट ताला फोडेर ४ आना सुन र ४० तोला चाँदी चोरी भएको थियो ।

यस्तै, जिल्ला अस्पताल खोटाङमा कार्यरत स्टाफनर्स संगीता जवेगुको ल्यापटप र चेकबुक तथा दिक्तेलस्थित सरस्वति माविको ताला फोडेर ग्याँस चुलो, इन्टरनेटको राउटर लगायतका सामान चोरी भए थियो । श्रृंखलावद्ध चोरी भइरहे पनि अहिलेसम्म प्रहरीले घर, पसल तथा विद्यालय चोरीमा संलग्न दोषी पत्ता लगाउन सकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार