कार्तिक ३ गतेबाट बृहत्त हतुवागढी महोत्सव हुने


भोजपुर, ३० असोज । पर्यटन प्रवद्र्धनको लागि बृहत्त हतुवागढी महोत्सव हुने भएको छ । यहाँको पर्यटनसँगै स्थानीय जातजातीको संस्कार संस्कृतिको प्रचारप्रसारको लागि कार्तिक ३ देखी १७ गतेसम्म महोत्सव सञ्चालन हुने भएको हो । हतुवागढी गाउँपालिकाको प्रायोजन तथा उद्योग बाणिज्य संघ घोडेटार शाखाको आयोजनामा महोत्सव सञ्चालन हुने भएको हो । महोत्सवका लागि गाउँपालिकाले रु.३० लाख बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिनुभयो ।

महोत्सवको अवसरमा एक सय ५३ मिटर उचाईमा रहेको जिल्लाको सवैभन्दा होचो स्थल माइबेँनीबाट हतुवागढीको एक हजार ८६५ मिटर उचाई रहेको सवै भन्दा अग्लो स्थान संखाम जोर आहाल हुँदै घोडेटार बजारसम्म करिव २६ किलोमिटर दौड प्रतियोगितासमेत सञ्चालन हुने अध्यक्ष राईको भनाइ छ । पर्यटन क्षेत्रको प्रवद्र्धनको लागि दौड प्रतियोगिता सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो ।

“पर्यटनको विकाससँगै हतुवागढी क्षेत्रको उजागरको लागि महोत्सवको आयोजना गरेका छौँ”अध्यक्ष राईले भन्नुभयो,“यो अवधिमा साँस्कृतिक कार्यक्रमसँगै विभिन्न जातजातीको संस्कार,संस्कृतिको उजागर हुनेछ । यसले यहाँको आन्तरिक तथा बाह्य पर्यटनको विकासमा टेवा पुग्छ भन्ने हामीले अपेक्षा लिएका छौँ ।”
महोत्सवको अवसरमा यहाँ कृषि प्रर्दशनीको हुने गाउँपालिकाले जनाएको छ । यहाँका रैथाने परिकारसँगै स्थानीय संस्कार संस्कृतिको प्रर्दशनी हुने गाउँपालिका अध्यक्षको भनाइ छ ।

स्थानीय संस्कार,सस्कृतिको संरक्षणको लागि मारुनी, स्यामुना सिली, लाखे नाच, हुर्रा नाच, डम्फु नाचलगायतको प्रर्दशनी हुने उहाँले जानकारी दिनुभयो । महोत्वसको अवसरमा स्थानीय तथा राष्ट्रिय कलाकारको उपस्थिति रहने जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार