प्रदेश सरकारद्धारा ईखुर्वा खोला बाढीका मृतक परिवार राहत वितरण


भोजपुर, २१ साउन । कोशी प्रदेश सरकारले इर्खुवा खोला बाढीबाट मृत्यु भएका मृतक परिवारलाई राहत वितरण गरेको छ । यहि साउन १६ गते आएको बाढीले मृत्यु भएका दुई परिवार र बाढी पीडितलाई राहत वितरण गरेको हो । बाढीले बगाउदा इर्खुवा खोला हाइड्रोपावरमा काम गर्ने कामदार श्यामकुमार थारु र रमेश थारुको मृत्यु भएको थियो । प्रदेश सरकारको तर्फबाट तत्काललाई मृतक परिवारलाई रु. एक/एक लाख हस्तान्तरण गरिएको हो । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी र मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका राज्यमन्त्री सिर्जना राईले राहात वितरण गर्नुभएको हो ।  बाढी पीडित पाँच परिवारलाई २५ बोरा चालम, ५० केजी दाल, ५० लिटर तेल, २५ केजी नुन, २५ थान कम्मल र २५ थान त्रिपाल वितरण गरिएको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय राज्य मन्त्री सिर्जना राईले जानकारी दिनुभयो । यहाँको षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका पीडित परिवारको पूर्ण विवरण आएपछि थप राहत वितरण गर्ने उहाँको भनाइ छ ।

“प्रदेश सरकारको तर्फबाट स्थलगत रुपमा घटना स्थलको अनुगमन गरेर पीडितलाई राहत वितरण गरेका छौँ” मन्त्री राईले भन्नुभयो,“बाढीको कारण मानवियसँगै निकै ठूलो भौतिक क्षति भएको छ । तत्कालिन रुपमा पाँच परिवारलाई राहात वितरण गरेका छौँ । थप क्षतिको विवरण आएपछि अन्य परिवारलाई पनि वितरण गछौँ ।”

राज्यमन्त्री राईसहितको समुहले साल्पासिलिछो गाउँपालिकाको फेदी भन्ने स्थानसम्म पुगेर बाढीले पुर्यायको क्षतिको विषयमा जानकारी लिएको हो । कोशी प्रदेश सरकारले यथासिग्र क्षतीको पूर्ण विवरण मन्त्रालयमा पठाउन सम्वन्धित निकायलाई निर्देशन दिएको छ । बाढीबाट क्षतीग्रस्थ झोलुङ्गे पुल र मोटरेवल पुलहरु पुनः निर्माण, मर्मत तथा संरक्षणको लागि तत्काल आवश्यक पक्रिया अघि बढाउने मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बताउनुभयो । प्रदेश सरकारले पीडित परिवारलाई सहज रुपमा घरदैलोमा पुगेर राहत वितरणका लागि मन्त्रि परिषद्बाट निर्णय गरेर काम अघि बढाएको मुख्यमन्त्री कार्कीको भनाइ छ ।

बढीबाट क्षति पुगेका पुलहरुको पुनः निर्माण तथा मर्मत गरी चाडो जनतालाई सेवा प्रदान गर्न प्रदेश सरकार गम्भिर रहेको उहाँले बताउनुभयो ।
थुम्लुङ खोलाबाट शुरु भएको इर्खुवा खोला बाढीले निर्माणधिन नागदह पक्की पुल, निर्माणको अन्तिम चरणमा पुगेको तामुटार पक्की पुल, गौडेनी पक्की पुल,टावुटार झोलुङ्गे पुल, गोथे बजार झोलुङ्गे पुल, नागदह झोलुङ्गे पुल, दोभाने झोलुङ्गे पुल र वागवालुङ झोलुङ्गे पुलमा क्षति पुगेको साल्पासिलिछो गाउँपालिका अध्यक्ष दौलथ कुलुङले जानकारी दिनुभयो ।

त्यस्तै बाढीले इर्खुवा खोला हाइड्रोपावरमा पूर्ण क्षति पुगेको उहाँको भनाई छ । त्योसँगै अन्य तीन वटा हाइड्रोपावर र खोला किनारका बस्तीमा समेत क्षति पुगेको अध्यक्ष कुलुङले जानकारी दिनुभयो ।

   

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार