मुख्यमन्त्रीद्धारा भोजपुर –टक्सार विमान स्थल सडक उद्घाटन


भोजपुर, २३ कात्तिक । भोजपुर सदरमुकामदेखि टक्सार बिमान स्थलसम्मको कालोपत्रे सडकको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका छन् । मुख्यमन्त्री राईले आइतबार एक कार्यक्रमका बीच सडकको उद्घाटन गरेका हुन् । जिल्लामा पहिलो पटक आस्पाल्ड प्रविधिबाट पूर्वाधार विकास कार्यालय भोजपुरको रु. १६ करोड ९२ लाख लागतमा सडक कालोपत्रे गरिएको हो । रायामाझी–जगदम्बा–मार्सेली जेभीले निर्माण गरेको यो सडकको लम्वाई ५ किलोमिटर रहेको छ । कालोपत्रेको मोटाई ४ सेन्टिमिटर रहने जनाइएको छ । मुख्यमन्त्री राईले २०७६ वैशाख ७ गते शिलान्यास गरेका थिए । शिलान्यास गरेको डेढ वर्षपछि उक्त सडक उद्घाटन गरिएको हो ।

त्यस्तै मुख्यमन्त्री राईले प्रदेश सरकारको रु. पाँच करोड दुई लाख ६८ हजार लागतमा निर्माण हुने भोजपुर सभाहल र रु. तीन करोड लागतमा बन्न लागेको यलम्बर सभाहलको पनि शिलान्यास गरेका छन् । मुख्यमन्त्री राईले खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको पनि उद्घाटन गरेका छन् । यस कार्यालयले भोजपुर र संखुवासभालाई सेवा दिने बताइएको छ । त्यस्तै मुख्यमन्त्री राईले सोमबार टेम्के डाँडामा बन्न लागेको ‘टेम्के भ्यू’ टावरको शिलान्यास गर्ने कार्यक्रम रहेको छ, भने सोमबार नै टेम्केमैयुङ गाउँपालिकालाई‘उज्यालो गाउँपालिका’ घोषणा गर्ने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार