भोजपुरमा पत्रकार सहित ६७ जनाको स्वाब संकलन


भोजपुर, ६ जेठ । सुक्ष्म रुपमा कोरोना फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै भोजपुरमा ६७ जनाको स्वाब संकलन गरिएको छ । मंगलबार बढी मात्रामा जनसम्पर्कमा रहने पत्रकार, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी कर्मचारी लगाएतको स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएको हो । जिल्लामा कोरोना संक्रमण देखिएका युवा निको भएर घर फर्किसकेका छन् । त्यसपछि परिक्षण गरिएका सबैको रिपार्ट नेगेटिभ आइरहेको छ । तर पनि पछिल्लो समय नेपालमा दिन प्रतिदिन कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि बढी जन सम्पर्कमा रहने ६७ जनाको स्वाब संकलन गरी परीक्षणको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले बताए । प्रजिअ पुरीले भने,‘यहाँ एक जनामा संक्रमण देखिएको भए पनि उनी निको भईसकेका छन्, पछिल्लो समयमा गरिएका सबै रिपोर्टहरु नेगटिभ आईरहेका छन्, तर पनि देशमा संक्रमितको सङ्ख्या बढी रहेकोले बढी मात्रामा जन सम्पर्कमा रहनेहरुको स्वाब संकलन गरेर जाँचको लागि पठाएका छौ ।’

जिल्लामा संक्रमितको सङ्ख्या नदेखिएपनि उच्च सतर्कताका साथ परीक्षण भईरहेको स्वास्थ्य प्रमुख फणिन्द्र थापाले बताए । विभिन्न ठाउँबाट जिल्ला प्रवेश गरी क्वारेन्टाइन तथा होम क्वारेन्टाइनमा रहेका मानिसहरुको १४ दिन पछि आरडिटि परीक्षण भईरहेको उहाँको भनाइ छ । प्रमुख थापाले भने,‘ क्वारेन्टाइनमा रहेकाहरुको आरडिटि परीक्षण गरिहेका छौ त्यसको अलवा धेरै जन सम्पर्कमा रहने मानिसहरुको स्वाब संकलन गरेर पठाएका छौ, यसको नतिजा आएपछि परीक्षणको दायरालाई झन् बढाउने उद्धेश्य छ ।’ रिपोटिङको शिलशिलामा जोखिम युक्त ठाउँमा जानु पर्ने भएकोले स्वाब संकलनले थप ढुक्क हुने अवस्था हुने पत्रकारहरुले बताएका छन् । परिक्षणको दायरालाई अझ बढाउनु पर्ने नेपाल पत्रकार महासंघ भोजपुर शाखाका कार्यवाहक अध्यक्ष एक्सन राईल बताए ।

जिल्लामा मंगलबार सम्म ६३८ जनाको आरडिटी, ९२ जनाको स्वास्ब संकलन गरिएकोमा २५ जनाको रिपोर्ट आएका छ भने आज स्वाब संकलन गरिएको ६७ जनाको रिपोर्ट आउन बाँकी छ । जिल्लामा ५ सय २५ क्वारेन्टिन, १३ वटा आईसोलेसन वार्ड निर्माण गरिएको छ, भने जसमा ९६ क्वारेन्टाईनमा र १६३ होम क्वारेन्टाईनमा राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार