
भोजपुर, ३० चैत ।
लक डाउन उलङ्घन गरी सडकमा जथाभावी हिड्नेलाई भोजपुर प्रहरीले कारवाही थालेको छ । प्रहरीले आज जथाभावी हिड्ने ४३ जनालाई नियन्त्रण लिएर दुई घण्टा उभ्याएर कोरोना सम्वन्धी सचेतना दिएर छाडेको छ । कारवाहीमा पर्नेमा ३३ जना पुरुष र १० महिला रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । उनीहरुलाई कार्यालयल परिसरमा ल्याएर कारवाही गरेर छाडिएको हो ।
लकडाउनको उल्लंघन गर्दै अत्याआवश्यक काम बाहेक घर बाहिर निस्केकाहरुलाई सदरमुकामका विभिन्न चोकबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले जानकारी दिए । उनीहरुलाई कोरानाले विश्वसंगै नेपालमा पारेको प्रभाव र सामाजिक दुरीका विषयमा जानकारी दिएर छाडिएको उनले बताए ।
प्रमुख मगरले भने,‘हामीले लकडाउनको अवज्ञा गर्नेलाई नियन्त्रणमा लिएर कारवाही गर्न थालेका छौ, आज मात्र अत्यावश्यक काम बाहेक सडकमा हिडडुल गर्ने ४३ जनालाई नियन्त्रणमा लिएर कारवाही गरेर छाडेको छौ ।’जिल्लामा पछिल्लो केहिदिन देखि लकडाउन उलङ्घन गर्नेको संख्या बढ्न थालेपछि प्रहरीले कडाई गर्न थालेको हो । लक डाउनमा अत्यावश्यक कामबाहेक विभिन्न बाहना देखाएर घरबाहिर निस्कने क्रम बढेपछि प्रहरीले कारवाहीको नयाँ शैली अपनाएको हो ।
सरकारले घोषणा गरेको लक डाउनलाई प्रभावकारी कार्यान्यवन गराउनका लागि यो अभियान थालिएकाले लकडाउन अवधी भर अभियान सञ्चालन गरिने प्रमुख मगरले बताए । विभिन्न सञ्चार माध्यम र माइकिङबाट लक डाउनको प्रभावकारी कार्यान्वयनका लागि संदेश प्रवाह गरेकोले उलङ्घन गर्नेलाई संक्रमक ऐन २०२० बमोजिम ६ महिना सम्म कैद हुने प्रहरीले जनाएको छ ।























