
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख एवं उप–सचिव भक्त बहादुर लामा विरूद्ध बिहीवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । अख्तियारले निज लामालाई काठ दाउराको छोडपूर्जी म्याद थप गर्ने क्रममा सेवाग्राहीसँग रू।४ लाख घूस लिएको अवस्थामा पक्राउ गरेको थियो ।
पक्राउ पछि अनुसन्धानको क्रममा भेटिएका आधार, प्रमाण र कारणबाट आरोपित डिभिजन वन अधिकृत लामाले सुर्खेतदेखि बाँके जिल्लासम्म काठ लैजानको लागि लिएको छोडपूर्जीको म्याद थप गरिदिने प्रयोजनको घूस लिएको दावी गर्दै विगो माग दावी सहित विशेष अदालतमा निजविरुद्ध मुद्धा दायर गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।


















