कृषिमा आधुनिकीकरणतर्फ पौवादुङमा : ३ सयभन्दा बढी किसानलाई ‘मिनिटिलर’


युवराज विष्ट
भोजपुर, १३ जेठ ।
भोजपुरको पौवादुङमा गाउँपालिकाले कृषिमा यान्त्रिकीकरण प्रवद्र्धन गर्ने लक्ष्यसहित ३ सयभन्दा बढी किसानलाई हाते ट्याक्टर (मिनिटिलर) वितरण कार्यक्रम सुरु गरेको छ। कृषकको माग र आवश्यकता मूल्याङ्कनका आधारमा पहिलो चरणमा १७० वटा हाते ट्याक्टर वितरण गरिएको हो । बाँकी किसानलाई क्रमशः वितरण गरिने गाउँपालिकाले जनाएको छ ।


गाउँपालिकाले कुल ३४० किसानलाई ५० प्रतिशत लागत साझेदारीमा हाते ट्याक्टर उपलब्ध गराउने प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । परम्परागत खेती प्रणालीलाई आधुनिकीकरणतर्फ रूपान्तरण गर्न यो कार्यक्रम प्रभावकारी बन्ने बताउनुभयो ।“किसानलाई प्रविधिमैत्री खेतीतर्फ आकर्षित गर्दै उत्पादन र उत्पादकत्व बढाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेका हौँ,” उहाँले भन्नुभयो“यसले किसानलाई व्यावसायिक खेती प्रणालीमा लाग्न प्रोत्साहन गर्छ भन्ने हाम्रो अपेक्षा हो ।”
गाउँपालिका अध्यक्ष किरण राईले कृषिलाई स्थानीय अर्थतन्त्रको मेरुदण्डका रूपमा विकास गर्न यस्ता कार्यक्रमलाई प्राथमिकता दिइएको बताउनुभयो। विगतका वर्षदेखि नै कृषि क्षेत्रमा विभिन्न अनुदान तथा प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्दै आएको उहाँको भनाइ छ । किसानमा व्यवसायिक सोचको विकास गराउन गाउँपालिकाले कृषिमा जोड दिएको बताउनुभयो । “हामीले किसानको वास्तविक मागका आधारमा कार्यक्रम ल्याएका छौँ,” अध्यक्ष राईले भन्नुभयो, “यन्त्रिकरणमार्फत खेतीलाई सहज, छिटो र उत्पादनमुखी बनाउने लक्ष्य राखेका छौँ।”


कृषकलाई आत्मनिर्भर बनाउनुका साथै स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने उद्देश्यले कृषि क्षेत्रमा लगानी विस्तार गरिएको उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो। उहाँले वितरण गरिएका सामग्रीको प्रभावकारी उपयोग सुनिश्चित गर्न नियमित अनुगमन र प्राविधिक सहायतामा जोड दिइने जानकारी दिनुभयो । “सामग्री वितरण मात्रै होइन । त्यसको सही प्रयोग र दीगो प्रभाव सुनिश्चित गर्नु पनि हाम्रो दायित्व हो,” उहाँले भन्नुभयो।
स्थानीय किसानहरूले कार्यक्रमबाट सकारात्मक प्रभाव परेको बताएका छन्। किसान प्रेमबहादुर कार्कीले हाते ट्याक्टर प्रयोगले खेतबारी जोत्न, गोडमेल गर्न र अन्य कृषि कार्यमा लाग्ने समय र श्रम घटाउने बताउनुभयो । “पहिले दिनौं लाग्ने काम अहिले केही घण्टामै सकिन्छ,” उहाँले भन्नुभयो, “यसले खेती गर्न उत्साह थपेको छ । उत्पादन बढाउने आशा पनि जगाएको छ।”
कृषि उद्यमशीलता विकास गर्दै युवालाई कृषिमा आकर्षित गर्ने योजना अनुसार गाउँपालिकाले कृषक लक्षित कार्यक्रम सञ्चालन गरिरहेको छ । स्थानीय उत्पादनलाई बजारसँग जोड्नका लागि गाउँपालिकाले यसअघि कृषि एम्बुलेन्ससमेत खरिद गरेको छ । गाउँपालिकाले कृषिमा आधुनिक प्रविधि भित्राउदै, उत्पादन लागत घटाउने तथा उत्पादकत्व बढाउने दीर्घकालीन लक्ष्यसहित यस्ता कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार