
युवराज विष्ट
भोजपुर, २९ वैशाख ः
भोजपुरको षडानन्द नगरपालिका–२ स्थित श्री जनोदय आधारभूत विद्यालयमा नवनिर्मित आधुनिक तथा बालमैत्री विद्यालय भवन उद्घाटन गरिएको छ। युडब्लुएस नेपालको साझेदारी र TROPIC कम्पनीको सहयोगमा निर्माण गरिएको ११ कोठे विद्यालय भवनसँगै खानेपानीसहितको पाँच कोठे बाल तथा अपाङ्गमैत्री शौचालय भवन एक समारोहबीच उद्घाटन गरिएको हो।
उक्त संरचनाको उद्घाटन षडानन्द नगरपालिका प्रमुख सुरेन्द्र कुमार उदास, उपप्रमुख प्रमिला राई, युडब्लुएस नेपालका निर्देशक अभिनाश झा तथा दातृ संस्था TROPIC कम्पनीका उपप्रमुख कार्लटन कोनेलले संयुक्त रूपमा २०८३ वैशाख २९ गते गर्नुभएको हो।
उद्घाटन समारोहमा बोल्दै TROPIC कम्पनीका उपप्रमुख कोनेलले भवन निर्माणमै सीमित नभई आगामी पाँच वर्षसम्म विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले विद्यालयलाई विद्यार्थीको भविष्य निर्माण गर्ने र उनीहरूलाई सपना देख्न प्रेरित गर्ने थलोका रूपमा विकास गर्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख उदासले शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिकाको प्रयासमा युडब्लुएस नेपालजस्तो साझेदार संस्थाको साथ मिल्नु खुशीको विषय भएको बताउनुभयो। उहाँले समुदायको सहकार्यबिना बालबालिकाको शैक्षिक भविष्य उज्ज्वल बनाउन नसकिने उल्लेख गर्दै भवन निर्माणमा सहयोग गर्ने TROPIC कम्पनी र कार्यक्रम कार्यान्वयन गर्ने युडब्लुएस नेपालप्रति आभार व्यक्त गर्नुभयो।
विशेष अतिथि उपप्रमुख राईले युडब्लुएस नेपालको साझेदारीमा हाल चार विद्यालयमा भवन निर्माणसहित पाँच वर्षे शैक्षिक कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो। साथै थप दुई विद्यालयमा भवन निर्माण तथा शैक्षिक साझेदारीको सम्झौता भइसकेको बताउँदै १० विद्यालयमा ‘EducationPlus’ मोडेलअन्तर्गत शून्य शैक्षिक गरिबी (ZEP–२०३०) लक्ष्यसहित कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो।
युडब्लुएस नेपालले भोजपुर जिल्लामा आठ विद्यालय भवन निर्माणसहित २० विद्यालयमा ‘EducationPlus’ कार्यक्रम सञ्चालन गरिरहेको छ। संस्थाले भोजपुर, संखुवासभा, ताप्लेजुङ, तनहुँ र गुल्मी गरी पाँच जिल्लामा आफ्ना गतिविधि विस्तार गरेको छ।
संस्थाका निर्देशक झाका अनुसार हालसम्म ८७ विद्यालय भवन निर्माण तथा ४१ विद्यालयमा ‘EducationPlus’ मोडेलमार्फत शैक्षिक सुधारका कार्यक्रम सञ्चालन भइरहेका छन्। साथै पाँच वर्षे साझेदारी पूरा भएका ४३ विद्यालयलाई स्थानीय सरकार तथा समुदायलाई हस्तान्तरण गरिसकिएको उहाँले जानकारी दिनुभयो। युडब्लुएस नेपाल सन् २०१५ मा स्थापना भई शैक्षिक सुधारका क्षेत्रमा निरन्तर क्रियाशील रहँदै आएको संस्था हो।



















