भोजपुर वैकुण्ठेको साम्के र तामालुङ गाउँमा स्याउ खेती विस्तार


युवराज विष्ट
भोजपुर, २१ चैत ।
भोजपुरको रामप्रसादराई गाउँपालिका ६ वैकुण्ठेका किसान व्यावसायिक स्याउ खेतीमा जुटेका छन् । वडाले स्याउ खेती सम्बन्धि कार्यक्रम सञ्चालन गरेपछि स्थानीय व्यावसायिक स्याउ खेतीमा जुटेका हुन् ।
साम्के र तामालुङ गाउँका ३६ जना किसानले करिव एक सय रोपनी क्षेत्रफलमा स्याउको खेती विस्तार गरेको स्थानीयबासी पाण्डव राईले जानकारी दिनुभयो । वडाले स्याउ खेती विस्तारको लागि अनुदान सहयोग गरेपछि किसानहरु उत्साहित भएको उहाँको भनाइ छ । ५० प्रतिशत लागत साझेदारीमा स्याउको व्यावसायिक खेती विस्तार गरेको उहाँले जानकारी दिनुभयो ।

“हामी यहाँको करिव एक सय रोपनीमा स्याउ खेती विस्तार गरेका छौँ”उहाँले भन्नुभयो,“वडा कार्यालयसँगको लागत साझेदारीमा खेती विस्तार गरेका हौँ । वडाले खेती विस्तारको लागि प्रोत्साहन गरेको प्रति हामी खुसी छौँ ।”
वडाले भूगोल र माटो सुहाउँदो खेती प्रणालीमा जोड दिएको वडाध्यक्ष एकराज आचर्यले बताउनुभयो । स्याउ खेतीको उपयुक्त भूगोल रहेकोले साम्के र तामालुङ गाउँमा स्याउ खेतीको कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष आचर्यको भनाइ छ । यहाँ किसानलाई करिव एक हजार आठ सय स्याउका कमली विरुवा वितरण गरिएको उहाँले बताउनुभयो ।
“वडाले यहाँको माटो र भूगोल सुहाउँदो खेती प्रणालीमा जोड दिएको छ”वडाध्यक्ष आचर्यले भन्नुभयो,“दुई वटा गाउँमा स्याउ खेतीको लागि उपयुक्त भूगोल रहेकोले खेती विस्तारमा जोड दिएका छौँ । यो क्षेत्रलाई स्याउको नमूना क्षेत्र बनाउने हाम्रो लक्ष्य छ । अन्य ठाउँमा सुन्तला, काजतीलगायत फलफूलको खेतीमा पनि प्रोत्साहन गर्दै आएका छौँ ।”
वडाले रु. दुई लाख बजेट विनियोजन गरेर किसानलाई स्याउ खेतीको लागि विरुवा वितरण गरेको वडाध्यक्ष आचर्यले बताउनुभयो । गत आर्थिक वर्षको बजेटबाट व्यावसायिक सुन्तला खेतीमा लागेका किसानलाई प्रोत्साहन गर्न सुन्तला नर्सरी स्थापना गरेको उहाँको भनाइ छ । किसानलाई यहिको हावापानीमा उत्पादन भएका विरुवा वितरण गर्ने लक्ष्यले नर्सरी स्थापना गरिएको उहाँको भनाइ छ ।
“वैकुण्ठेमा धेरै खालका फलफूलहरुको उत्पादन हुन्छ”वडाध्यक्ष आचर्यले भन्नुभयो,“यहाँ बेँसीदेखी लेकाली क्षेत्रसमेत छ । उचाई र हावापानी अनुसारको खेती विस्तारमा हामीले योजनाबद्ध रुपमा काम गरिरहेका छौँ । किसानलाई कृषिको माध्यमबाट आर्थिक उपार्जनमा जोड्न फलफूल तथा तरकारी खेतीमा आवश्यक सहयोग गर्दै आएका छौँ ।”
यहाँको भूगोलका लागि उपयुक्त हुने स्याउको विरुवा वितरण गरिएको कृषि शाखाका प्रमुख धिरज ठाकुरले जानकारी दिनुभयो । खेती विस्तारमा जुटेका किसानलाई उनीहरुको घरमा नै पुगेर आवश्यक प्राविधिक सहयोग प्रदान गरिएको उहाँले बताउनुभयो । बाग्लुङबाट ल्याएर कलमी विरुवा वितरण गरिएकोले यहाँ विस्तार भएका विरुवाले तीनदेखी चार वर्षभित्रमा उत्पादन दिने उहाँको भनाइ छ ।
“भौगोलिक हिसाबले यो क्षेत्र स्याउ खेतीको लागि निकै उपयुक्त छ”शाखा प्रमुख ठाकुरले भन्नुभयो,“ किसानलाई स्याउ खेतीबाट आम्दानीसँग जोड्न आवश्यक सहयोग गरिरहेका छौँ । किसानहरुको घरमा नै पुगेर आवश्यक प्राविधिक सहयोग गर्दै आएका छौँ ।”
जैविक खेती प्रणालीमा जोड्न किसानलाई जैविक मल तथा विषाधी बनाउने तालिमसमेत दिँदै आएको प्रमुख ठाकुरले बताउनुभयो । साथै स्याउमा लाग्ने रोग किरा र रोकथामको बारेमा पनि किसानलाई आवश्यक ज्ञान प्रदान गरिएको उहाँले बताउनुभयो ।
गाउँपालिकाले कृषि गुरु योजना तयार गरेर कृषिको क्षेत्रमा लगानी गरिरहेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताउनुभयो । कृषि एम्वुलेन्समार्फत किसानले उत्पादन गरेका कृषि उजपहरुको ढुवानी गरिरहेको उहाँको भनाइ छ । माटो परिक्षण गरेर माटो सुहाउँदो बालीको व्यावसायिक खेतीमा किसानलाई प्रोत्साहन गरिरहेको अध्यक्ष राईले बताउनुभयो । गाउँपालिकाले तरकारी तथा फलफूलको पटेक क्षेत्र निर्धारण गरेको काम गरिहेको अध्यक्ष राईले जानकारी दिनुभयो ।
“कृषि क्षेत्रको विकासको लागि गाउँपालिकाले ‘कृषि गुरुयोजना’ नै तयार गरेको छ”अध्यक्ष राईले भन्नुभयो,“माटो परिक्षण गरेर नै किसानलाई खेती प्रणालीमा लाग्ने प्रोत्साहन गर्दै आएका छौँ । उत्पादित बस्तुको भण्डारणको लागि दुई स्थानमा चिस्यान केन्द्रसमेत निर्माण गरेका छौँ ।”
तरकारी खेतीको विकासका लागि वडा नं ३ भुल्केमा एक घर एक टनेलको कार्यक्रम सञ्चालन भईरहेको उहाँको भनाइ छ । किसानले उत्पादन गरेका कृषि उपजको भण्डारणको लागि भुल्के र वैकुण्ठेमा स्थानमा चिस्यान केन्द्र स्थापना गरिएको अध्यक्ष राईले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार