
भोजपुर, १६ जेठ । उपभोग गर्दै आएको खानेपानी एक महिना बढी समयबाट बन्द भएपछि भोजपुर मानेभञ्याङका स्थानीय समस्या परेका छन् । यहाँका स्थानीयले पानी उपभोग गर्दै आएको पिखुवा खोला लिफ्टिङ आयोजना एक महिना अघिबाट अवरोध भएसँगै स्थानीय आक्रोसितसमेत भएका छन् । पानी सञ्चालनको जिम्मा लिएको उपभोक्ता समिति निश्कृय बनेपछि नियमित रुपमा पानी उपभोग गर्न नपाएको स्थानीयको भनाइ छ । समितिले महशुल तिर्न नसक्दा पानी तान्नको लागि पम्पमा जडान गरिएको लाइन विद्युत् प्राधिकरणले काटी दिएपछि स्थानीय पानी उपभोग गर्नबाट बन्चित भएका हुन् ।
समितिले व्यावस्थित रुपमा योजना सञ्चालन गर्न नसक्दा खानेपानीबाट बञ्चित भएको स्थानीयबासीको भनाइ छ । उपभोक्ता समितिले महशुल बापतको रु. ११ लाख बढी रकम नतिरेको कारण नेपाल विद्युत् प्राविधिकरण भोजपुर वितरण केन्द्रले आयोजनामा जडान गरिएको विद्युत् लाइन काटी दिएको उपभोक्ता समितिका सचिव नगेन्द्र चौहानले जानकारी दिए । ‘पानी सञ्चालनको क्रममा उठेको महशुल तिर्न नसक्दा विद्युत् काटिएको अवस्था छ’ सचिव चौहानले भने,‘विद्युत् काटिदा स्थानीयलाई एक महिना बढी समयबाट पानी खुवाउन सकेका छैनौँ । प्राधिकरणसँग पुनः विद्युत् जडानको लागि पहल गरिरहेका छौँ ।’ अवरोध भएको पानीलाई पुनः सञ्चलानमा ल्याउन उपभोक्ता समिति, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय र उपभोक्ता बीच छलफल गरिएको छ । त्रिपक्ष छलफलबाट पानीलाई नियमित रुपमा सञ्चालन गर्न पुरानो समितिलाई विगठन गरेर अर्को समिति गठन गर्ने निर्णय भएको छ ।
पुरानो समितिले आयोजना सञ्चालनको क्रममा भएको आयव्ययको वितरण हालसम्म जानकारी नगराएको स्थानीयले बताएका छन् । १५ दिनको सूचना जारी गरी आगामी जेठ २७ गते साधारण सभा मार्फत नयाँ समिति गठन गर्ने निर्णय भएको उपभोक्ता समितिका उपाध्यक्ष हस्तबहादुर थापाले जानकारी दिए । निर्माण उपभोक्ता समितिको अध्यक्ष दिपक तामाङ काठमाण्डौमा रहेको कारण कामलाई सहज रुपमा सञ्चालन गर्न समस्या हुँदै आएको उनको भनाइ छ । ‘पानी नियमित रुपमा दिन सकिएको छैन’ उनले भने,‘आर्थिक तथा प्राविधिक समस्या देखा परेका छन् । समितिको अध्यक्ष काठमाण्डौमा हुनुहुन्छ । आजको भेलाले समिति परिवर्तन गर्ने निर्णय गरेको छ । नयाँ समिति गठन गरेपश्चात थप काम गर्न सहज हुने आशा गरेका छौँ ।’
हाल भएको समितिले व्यवस्थित ढंगले पानी खुवाउन पहल गर्न नसकेको स्थानीयबासी तिलाचन तामाङले बताउनुभयो । योजना सञ्चालनको क्रममा भएको खर्चको विषयमा हालसम्म समितिले स्थानीयलाई कुनै जानकारी दिन नसकेको उनको भनाइ छ ।‘उपभोक्ता समिति जिम्मेवार बन्न नसक्दा स्थानीय पानी खानबाट बन्चित भएका छन्’उनले भने,‘यो आयोजनालाई सहज रुपमा सञ्चालन गर्न सबैले भूमिका खेल्न आवश्यक छ । आगामी दिनका कामलाई व्यवस्थित रुपमा सञ्चालन गर्न समिति पुनर गठन गर्ने सहमति भएको छ ।’
योजना सञ्चालनमा उपभोक्ता समिति गम्भिर नहुँदा स्थानीय पानीको मारमा परेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भोजपुरले जनाएको छ । समितिले यहाँ हुने गरेका समस्याको विषयमा कार्यालयसँग समन्वय नगर्दा समस्या उत्पन्न हुने गरेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख देवनाथ सिंहले बताए । यस अघि यहाँको स्थलगत अनुगमन गरेर देखिएका समस्याको समाधानमा छलफल गरेको भएपनि समितिले खास चासो नदिएको उनको भनाइ छ ।
‘उपभोक्ता समिति निस्कृय बन्दा जनतालाई समस्या भएको देखिएको छ’प्रमुख सिंहले भने,‘समितिले योजनाको दिगो व्यावस्थापना लागि कुनै योजना बनाएको छैन ।यहाँको समितिलाई पुनः गठन गर्ने निर्णय भएको छ । नयाँ समिति बनेपछि यसलाई व्यवस्थित गर्न थप टेवा पुग्ने आशा गरेको छौँ । समिति सकृय नबेसम्म कार्यालयको पहलले मात्र योजना धान्न सम्भव छैन ।’महशुललाई कमि गर्दै स्थानीयलाई सहजता थप्न पिखुपा खेलामा पानी तानेको स्थानमा सोलार जडानका लागि काम गर्ने योजना रहेको प्रमुख सिंहले बताए ।
तत्काल आयोजनामा देखिएको समस्या समाधानमा पहल गर्ने वडा कार्यालयले जनाएको छ । खानेपानी कार्यालयसँग समन्वय गरेर हाल देखिएको समस्या समाधन गर्न भूमिका खेल्ने रामप्रसादराई गाउँपालिका ५ मानेभञ्याङका वडाध्यक्ष जगत चौहानले बताए ।‘ खोलाको पानी बस्तीमा आउदा स्थानीयमा उत्साह थपिएको थियो’ वडाध्यक्ष चौहानले भने,‘ एक महिना बढी समयबाट पानी नआउदा स्थानीयमा निराशा छाएको अवस्था छ । उपभोक्ता समितिलाई सकृय बनाउदै पानी नियमित सञ्चालनमा वडाले भूमिका खेल्छ ।’
विगतमा पानीको खास समस्या नभएपनि २०७२ सालको भूकम्पपछि यहाँका मुहान सुक्दै गएपछि स्थानीयमा पानीको समस्या जटिल बन्दै गएको थियो । पानीका मुहान सुक्दै गएपछि यहाँका स्थानीयले गाउँबस्ती नै छाड्दै गएका थिए । यहाँका स्थानीयको पानीको समस्या समाधान गर्न तीन हजार दुई सय मिटर तल रहेको पिखुवा खोलाको पानी लिफ्टिङ प्रविधिबाट बस्तीमा पु¥याइएको छ ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भोजपुरको करिब रु. दश करोड ५० लाख लागतमा पिखुवा खोला मानेभञ्याङ खानेपानी आयोजना सञ्चालनमा ल्याइएको हो । पानीको समस्या रहेका यहाँका तीन सय १८ बढी घरमा धारा जडान गरिएको निर्माण उपभोक्ता समितिले जनाएको छ ।