भोजपुर, ४ फागुन ।
यहाँको पौवादुङमा गाउँपालिका जिल्लामा स्थानीय भूउपयोग वर्गिकरण गर्ने पहिलो स्थानीय तह बनेको छ । गाउँपालिकाले नेपाल सरकारको भूउपयोग नियमावली २०७९ अनुसार यहाँको जमिनलाई दश भागमा विभाजन गर्ने काम सम्पन्न गरेर पहिलो बनेको हो ।
नेपाल सरकारको नीति अनुसार जमिनको समुचित तथा प्रभावकारी प्रयोग र व्यवस्थापनको लागि स्थानीय भूउपयोगको वर्गिकरण गरेको गाउँपालिकाले जनाएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले २०७८ जेष्ठ २३ गते राजपत्रमा जारी गरेको सूचना अनुसार गाउँपालिकाले आफ्नो गाउँपालिका भित्रका सम्पूर्ण जग्गाको वर्गिकरण गर्ने काम सम्पन्न गरेको हो ।
यहाँको कृषियोग्य, वन क्षेत्र, व्यापारीक क्षेत्र, आवशिय, सार्वजनिक क्षेत्र, धार्मिक तथा साँस्कृतिक क्षेत्र, औद्योगिक क्षेत्र लगाएत गरी दश प्रकारमा जग्गाको वर्गिकरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन भट्टराईले जानकारी दिए ।
वर्गिकरणको काम सकिएकाले अब गाउँपालिकाको जग्गाको किताकाट गर्न फुकुवा भएको छ । सवै जमिनको वर्गिकरण गरिएकोले जग्गाको खण्डीकरण रोक्न टेवा मिलेको प्रशासकीय अधिकृत भट्टराईको भनाइ छ ।
‘जिल्लामा पहिलो पटक हामीले गाउँपालिकाको स्थानीय भूउपयोग वर्गिकरण तयार गरेका छौँ’’ प्रशासकीय अधिकृत भट्टराईले भने,‘अव जग्गाको किताकाट गर्न सहज भएको छ । जग्गाको वर्गिकरण नहँुदा स्थानीयलाई अंशबन्डा लगायत काम गर्न असहज थियो । गाउँपालिकाले जग्गाको वर्गिकरणको आधारमा सिफारिससमेत दिन्छ ।’
नयाँ वर्गिकरण अनुसार यहाँको कुल एघार हजार ८५२ हेक्टर क्षेत्र मध्ये कृषिमा सबै भन्दा बढी सात सय ९९ हेक्टर, वन क्षेत्रमा चार हजार ६१ हेक्टर, सार्वजनिक क्षेत्र तीन सय नौ हेक्टर, आवासमा दुई सय २५ हेक्टर, व्यापारिकमा १० हेक्टर परेको छ । त्यस्तै खानी तथा खानीजन्य साँस्कृतिक क्षेत्रमा चार हेक्टर, नदीजन्यमा एक सय ३९ हेक्टर जग्गा रहेको तथ्याङ्कले देखाएको छ ।
जग्गाको सम्पूर्ण क्षेत्रको विवरण तयार भएकाले गाउँपालिकाको योजना सञ्चालनमासमेत सहजता हुने गाउँपालिका अध्यक्ष किरण राईले बताए । धेरै प्रयासले जिल्लामा जग्गाको वर्गिकरण गर्ने पहिलो पालिका बन्न सफल भएको उनको भनाइ छ ।
‘ धेरै समयको मेहनतपछि सरकारको नीति अनुसार यहाँको जमिनको वर्गिकरण गर्न सफल भएका छौँ’ अध्यक्ष राईले भने,‘ जमिनको वर्गिकरण गरेकोले कार्यालयसँगै स्थानीयलाई सेवा लिन सहज भएको छ । हामीलाई गाउँपालिकाको योजनाहरुको प्राथमिकरण गर्न पनि यसले प्रत्यक्ष लाभ पुग्छ । यो हाम्रो गाउँपालिकाको जमिनको स्पष्ट खाका पनि हो ।’
वर्गिकरणको काम थालेको करिब छ महिनाको अवधीमा काम सकेर गाउँपालिकाले यहाँको जग्गाको विवरण सम्बधित निकायमा पठाएको जनाएको छ । जिल्लाका अन्य स्थानीय तहमा पनि भूमिको वर्गिकरणको काम जारी रहेपनि छोटो अवधिमा पौवादुङमा गाउँपालिकाले काम सम्पन्न गरेको नापी कार्यालय भोजपुुरका प्रमुख देवकुमार बस्नेतले बताए । सम्पूर्ण जग्गाको विवरण तयार भएकाले पौवादुङमा गाउँपालिकाले आवश्यकता अनुसार जग्गाको किताकाट गर्न सक्ने उनको भनाइ छ ।
‘पौवादुङमा गाउँपालिकाले जिल्लामा पहिलो पटक आफ्नो क्षेत्रको जमिनको वर्गिकरणको काम सम्पन्न गरेको छ’ प्रमुख बस्नेतले भने,‘छोटो अवधिमा गरेको यो काम प्रशंसायोग्य छ । अब यो गाउँपालिकाले आवश्यता र औचित्यको आधारमा जग्गाको किताकाट गर्न सक्छ । अन्य स्थानीय तहमा पनि काम भईरहेको छ ।’
गाउँपालिकाले प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको प्रमुख आथित्यतामा भएको एक कार्यक्रमका बीच जग्गाको वर्गिकरण सम्पन्न गरेको जानकारी गराएको हो । गाउँपालिकाको भूमि सम्बन्धि स्पष्ट खाका तयार गरेकोले खेतीयोग्य जमिनको संरक्षणमा टेवा पुग्ने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए । जिल्लामै पहिलो पटक गाउँपालिकाले गरेको यो काम प्रशंसायोग्य रहेको स्थानीबासीले बताएका छन् ।