
युवराज विष्ट
भोजपुर, ३१ बैशाख।
धनकुटामा आयोजित ‘वाहिनीपति ट्रफी–२०८३’ मा भोजपुरस्थित श्री नयाँ श्रीनाथ गण सर्वोत्कृष्ट घोषित भएको छ। विभिन्न नौ विधामा सम्पन्न प्रतिस्पर्धामा उक्त गणले उत्कृष्ट प्रदर्शन गर्दै समग्र उपाधि जित्न सफल भएको हो।
प्रतियोगिताअन्तर्गत फुटबल, भलिबल, बास्केटबल, तेक्वान्दो, बक्सिङ तथा एथ्लेटिक्स विधामा नयाँ श्रीनाथ गण प्रथम स्थान हासिल गर्न सफल भएको थियो। समग्र प्रदर्शनका आधारमा उक्त गणलाई सर्वोत्कृष्ट घोषित गरिएको हो।

त्यस्तै, प्रतियोगितामा उत्कृष्ट व्यक्तिगत प्रदर्शन गर्दै सिपाही सन्देश गुरुङ, अर्जुन वि.क.र उपसेनानी सुमन बस्नेत क्रमशः फुटबल, भलिबल र बास्केटबलतर्फ सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभयो । प्रतियोगितामा धनकुटामा तैनाथ भीमदल गण दोस्रो तथा मोरङमा तैनाथ शिवदल गण तेस्रो स्थानमा रहन सफल भएका छन् ।
सर्वोत्कृष्ट घोषित नयाँ श्रीनाथ गणलाई वाहिनीपति सहायक रथी दिवाकर विक्रम राणाले ट्रफी प्रदान गर्नुभयो। साथै उहाँले विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने गण, गुल्म, खेलाडी, प्रशिक्षक तथा निर्णायकहरूलाई ट्रफी, पदक, प्रमाणपत्र तथा प्रशंसापत्र प्रदान गर्नुभयो।
सैनिकबीच खेलकुद संस्कृतिको विकास, आपसी एकता अभिवृद्धि तथा शारीरिक र मानसिक क्षमताको सुदृढीकरण गर्ने उद्देश्यले बैशाख २३ गतेदेखि प्रतियोगिता सञ्चालन गरिएको थियो। प्रतियोगिता बैशाख ३१ गते एक औपचारिक समारोहबीच सम्पन्न भएको हो।

समापन समारोहमा सहायक वाहिनीपति, गणपति तथा गुल्मपति, धनकुटास्थित खेलकुद विकास समितिका पदाधिकारी, सञ्चारकर्मीलगायत सैनिक अधिकृत तथा सकलदर्जाको उपस्थिति रहेको थियो



















