नयाँ श्रीनाथ गण भोजपुरको पहलमा ‘अभ्यास मनसुन–छ’ सञ्चालन हुँदै


युवराज विष्ट
भोजपुर, १३ जेठ ।
मनसुनजन्य प्रकोप तथा अन्य विपद्जन्य जोखिमबाट हुन सक्ने धनजनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले नयाँ श्रीनाथ गण भोजपुरको पहलमा ‘अभ्यास मनसुन–६’ सञ्चालन गरिने भएको छ। विपद् व्यवस्थापन कार्यलाई प्रभावकारी, छरितो र समन्वयात्मक बनाउने लक्ष्यसहित नेपाली सेनाले उक्त अभ्यास आयोजना गर्न लागेको हो।
अभ्यासअन्तर्गत जेठ १४ गते भोजपुर –५ बोखिममा र जेठ १५ गते सदरमुकामस्थित टुँडिखेलमा संयुक्त प्रदर्शन गरिने कार्यक्रम तय गरिएको छ। उक्त अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सक्रिय सहभागिता रहने जनाइएको छ।
जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा सञ्चालन हुने यस अभ्यासबारे सरोकारवाला निकायबीच बुधबार छलफलसमेत गरिएको छ। अभ्यासले विपद्को अवस्थामा गरिने उद्धार तथा राहत कार्यलाई अझ प्रभावकारी बनाउने सेनाले जनाएको छ ।

अभ्यासका क्रममा बाढी, पहिरो, आगलागी जस्ता सम्भावित विपद्का दृश्यहरूलाई कृत्रिम रूपमा सिर्जना गरी त्यसमा सुरक्षाकर्मीले गर्ने उद्धार तथा व्यवस्थापन कार्यको प्रत्यक्ष प्रदर्शन गरिनेछ। उद्धार गर्ने, घाइतेलाई सुरक्षित स्थानमा सार्ने, प्राथमिक उपचार प्रदान गर्ने,  जोखिमयुक्त स्थानबाट नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने लगायतका गतिविधि अभ्यासमा समावेश गरिने छन्।

नयाँ श्रीनाथ गण भोजपुरका अप्रेशन अधिकृत सेनानी महेश ज्ञावालीका अनुसार अभ्यासले विपद्को समयमा सुरक्षा निकायबीच समन्वय सुदृढ गर्नुका साथै स्थानीय तह र समुदायलाईसमेत सजग र तयारी अवस्थामा राख्न महत्वपूर्ण भूमिका खेल्नेछ।
यस्ता अभ्यासले स्थानीय नागरिकमा विपद् सचेतना अभिवृद्धि गर्नुका साथै आपतकालीन अवस्थामा कसरी सुरक्षित रहने भन्ने व्यवहारिक ज्ञान प्रदान गर्ने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार