कोटमा ‘एक घर–एक धारा’ अभियानले नागरिकलाई सहजता


युवराज विष्ट
भोजपुर ११ जेठ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–६ स्थित कोट क्षेत्रमा ‘एक घर–एक धारा’ अभियान प्रभावकारी रूपमा अघि बढाउन स्थानीयवासी सक्रिय रूपमा जुटेका छन्। गाउँ–गाउँमा सुरक्षित खानेपानीको पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालित अभियानअन्तर्गत हरेक घरमा धारा जडान गर्ने कार्यलाई तीव्रता दिइएको हो।

यसअघि सञ्चालनमा आएको खानेपानी आयोजनालाई थप व्यवस्थित बनाउन हाल भण्डारण ट्याङ्की निर्माणको काम भइरहेको छ। वडाको पहल तथा गाउँपालिकाको रु ८ लाख बजेटमा करिब ४५ हजार लिटर क्षमताको ट्याङ्की निर्माण भइरहेको वडाध्यक्ष सूर्यप्रसाद नेपालले जानकारी दिनुभयो। उहाँका अनुसार ट्याङ्की निर्माण सम्पन्न भएपछि पानी वितरणमा देखिएका समस्या समाधान भई आपूर्ति अझ सहज र नियमित हुनेछ।

“वडामा ‘एक घर–एक धारा’ अभियानअन्तर्गत अधिकांश घरधुरीमा पानी पु¥याइसकेका छौँ,” वडाध्यक्ष नेपालले भन्नुभयो, “भण्डारण ट्याङ्की अभावका कारण केही समस्या देखिएको थियो। अब ट्याङ्की निर्माण सम्पन्न भएपछि वितरण प्रणाली अझ व्यवस्थित हुनेछ।”

अभियानले स्थानीयवासीको दैनिक जीवनमा सकारात्मक परिवर्तन ल्याएको छ। वडाका स्थानीय बलबहादुर राईका अनुसार पहिले टाढाबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यता थियो, तर अहिले घरघरमै धारा जडान भएपछि समय र श्रम दुवैको बचत भएको छ।

लामो समयदेखि खानेपानी अभाव झेल्दै आएका यहाँका बासिन्दाले अहिले सुरक्षित र सहज पहुँच पाउन थालेपछि खुसी व्यक्त गरेका छन्। निर्माणाधीन भण्डारण ट्याङ्की सम्पन्न भएसँगै पानी आपूर्ति थप प्रभावकारी हुने स्थानीयबासीको भनाइ छ।

‘एक घर–एक धारा’ अभियानले ग्रामीण बस्तीमा आधारभूत सेवा विस्तार गर्दै स्थानीयको जीवनस्तर सुधारमा महत्वपूर्ण टेवा पु¥याइरहेको देखिन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार