भोजपुरमा सेनाको पहलमा ‘अभ्यास मनसुन–६’ सम्पन्न


युवराज विष्ट
भोजपुर, १५ जेठ ।
भोजपुरमा मनसुनजन्य प्रकोप तथा अन्य विपद्जन्य जोखिमबाट हुन सक्ने धनजनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले नेपाली सेनाको पहलमा ‘अभ्यास मनसुन–६’ सफलतापूर्वक सम्पन्न भएको छ। विपद् व्यवस्थापन कार्यलाई प्रभावकारी, छरितो र समन्वयात्मक बनाउने लक्ष्यसहित अभ्यास सञ्चालन गरेको हो।
अभ्यासका क्रममा बाढी, पहिरो, आगलागी जस्ता सम्भावित विपद्का दृश्यहरूलाई कृत्रिम रूपमा सिर्जना गरी सुरक्षाकर्मीले गर्ने उद्धार, राहत तथा व्यवस्थापन कार्यको प्रत्यक्ष प्रदर्शन गरिएको थियो। यस्ता अभ्यासमार्फत वास्तविक विपद्को समयमा कसरी छिटो, सुरक्षित काम गर्न सहजतासँगै नागरिकमा सन्देश प्रवाह हुने बताइएको छ ।
अभ्यासअन्तर्गत जेठ १४ गते भोजपुर नगरपालिका–५ बोखिममा पहिरो सम्बन्धी अभ्यास गरिएको थियो भने आज अर्थात् जेठ १५ गते सदरमुकामस्थित टुँडिखेलमा आगलागीसम्बन्धी संयुक्त प्रदर्शन गरिएको हो। संयुक्त अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको सक्रिय सहभागिता रहेको थियो।


कार्यक्रममार्फत सहभागीहरूलाई विपद्को समयमा प्रयोग हुने विभिन्न उपकरण, सामग्री तथा तिनको सही प्रयोगबारेसमेत जानकारी दिइएको थियो। नयाँ श्रीनाथ गण भोजपुरका अपरेसन अधिकृत सेनानी महेश ज्ञावालीले यस्ता अभ्यासले विपद्को समयमा सुरक्षा निकायबीचको समन्वय सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले यसले स्थानीय तह र समुदायलाईसमेत सजग र तयारी अवस्थामा राख्न मद्दत पु¥याउने बताउनुभयो “यस्ता अभ्यासले स्थानीय नागरिकमा विपद् सचेतना अभिवृद्धि गर्नुका साथै आपतकालीन अवस्थामा कसरी सुरक्षित रहने भन्ने व्यवहारिक ज्ञान प्रदान गर्छ,” सेनानी ज्ञावालीले भन्नुभयो।


जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा सञ्चालन गरिएको उक्त अभ्यासबारे सरोकारवाला निकायबीच छलफल पश्चात कार्यक्रम तय गरिएको जनाइएको छ। अभ्यासले विपद्को अवस्थामा गरिने उद्धार तथा राहत कार्यलाई अझ प्रभावकारी बनाउने विश्वास सेनाले व्यक्त गरेको छ।
कृत्रिम अभ्यासले विपद् तयारीको अवस्था सुदृढ बनाउनुका साथै मनसुनजन्य पूर्वतयारी मजबुत बनाउन सहयोग पुगेको प्रमुख जिल्ला अधिकारी राजन पौडेलले बताउनुभयो । कार्यक्रममा स्थानीयवासी, जनप्रतिनिधि तथा सरोकारवाला निकायको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार