पौवादुङमा गाउँपालिका कार्य सम्पादनमा उत्कृष्ट


भोजपुर,२५ फागुन । भोजपुरको पौवादुङमा गाउँपालिका कार्यसम्पादन मुल्याङकनमा प्रदेश १ को उत्कृष्ट ६ मा परेको छ । प्रदेश १ मा रहेका १३७ ओटा स्थानीय तहमध्ये गाउँपालिका तर्फ दोश्रो स्थानमा र नगरपालिकासहितको मुल्याङकनमा उत्कृष्ट ६ मा परेको हो ।

स्थानीय तहहरुले गरेका कामलाई ध्यानमा राखेर १७ ओटा सुचकलाई आधार मानेर प्राकृतिक श्रोत तथा वित्त आयोगले कार्यसम्पादनको मुल्याङकन गरिएको हो ।आयोगले योजनाको छनौट, कानुन कार्यान्वयनको अवस्था, बजेट कार्यान्वयनको अवस्था, आन्तरिक श्रोत परिचालनमा प्रयास, योजना सञ्चालन पद्धती, शुसासन लगाएत १७ ओटा सुचकमा स्थानीय तहको प्रगती मुल्याङकन गरेको हो । आयोगले गरेको मुल्याङकनमा पौवादुङमाले ७१ दशमलब २१ अंक ल्याएर छैटौँ भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश राईले जानकारी दिए । हाल प्राप्त गरेको अंकलाई आगमी वर्षमा अझ राम्रो बनाउने लक्ष्य रहेको राईको भनाइ छ ।

अधिकृत राईले भने,‘ हाम्रो स्थानीय तह प्रदेश १ को उत्कृष्ट ६ मा पर्न सफल भएको छ । यो हामी सबैको सामुहिक प्रयासको फल हो । आगमी दिनमा उत्कृष्ट १ मा पर्ने लक्ष्यका साथ कामलाई अगाडी बढाइरहेका छौँ ।’

पौवादुङमा गाउँपालिकालाई देशकै नमुनायोग्य स्थानीय तहमा स्थापित गर्ने लक्ष्यका साथ काम गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । गाउँपालिकाले योजनाबद्ध रुपमा सञ्चालन गरेका योजना तथा कार्यक्रमहरु स्थानीय जनतासँगै राज्यको नजरमासमेत परेको राईको भनाइ छ ।

अध्यक्ष राईले भने,‘मैले यो गाउँपालिकालाई एउटा नमूना गाउँपालिका बनाउने स्पष्ट योजनाका साथ काम गरिरहेको छु । धेरै जसो कामको जनताले अनुभूति गर्ने गरी नतिजा आउन थालेको छ । हामीले जनताका आवश्यकता र चाहनाका आधारमा योजनालाई प्राथमिकता निर्धारण गरेर काम गर्दै आएका छौँ । यसले जनतामा उत्साह थपेको छ ।’

जिल्लाका नौ ओटा स्थानीय मध्ये हाम्रो स्थानीय तह पहिलो बनेको छ भने प्रदेश १ मा उत्कृष्ट ६ मा परेको राईको भनाइ छ ।

‘यहाँका सवै क्षेत्रमा योजनाबद्ध रुपमा काम गरिरहेका छौँ । स्वास्थ्य, शिक्षा, यातयात, कृषि पर्यटन विकासमा ध्यान दिएका छौँ । यो हाम्रो अन्तिम कार्यकाल हो । दिर्घकालिन महत्व र आवश्यकता बोकेका कतिपय कामहरु पुरा गर्नलाई समय लाग्छ । त्यस्ता योजनाहरु पनि हामीसँग छन् ’ अध्यक्ष राईले भने,‘ कतिपय कामहरु सञ्चालन गर्न आफु अल्पमतमा रहेको कारण समस्या भएपनि गाउँपालिकामा नमूना काम गरिरहेको छु ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार