गाउँपालिकामा चुनावी घोषणा अनुसारको काम गरेको छु : अध्यक्ष ध्रुवराज राई


भोजपुर,२३ पौष । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले योजनाबद्ध सडक विस्तारमा जोड दिएको छ । जनताको आवश्यकता र चाहनाको आधारमा गाउँपालिका सञ्चालनमा आएपछि यहाँ एक सय चार किलोमिटर नयाँ सडक विस्तार भएको छ भने साढे बीस किलोमिटर सडक ग्रावेल गरिएको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष ध्रुवराज राईले जानकारी दिए । अध्यक्ष राईले भने,‘मैले गाउँपालिकाको अध्यक्षको जिम्मेवारी बहन गरेपछि जनताको सेवामा निरन्तर लागेको छु । मेरो कार्यकालमा मात्र यहाँको एक सय चार किलोमिटर नयाँ ट्रयाक र साढे बीस किलोमिटर सडक ग्रावेल गरेका छौँ ।’ अध्यक्ष राईले गाउँपालिकाको सिमित श्रोतमा आवश्यक मापदण्ड अनुसारको सडक विस्तारमा जोड दिएकोबताएका छन् । ‘गाँउबस्तीलाई सहज हुने गरी सीमित श्रोतमा उपलब्धिमूलक काम गर्ने योजना अनुसार सडक विस्तारमा जोड दिएको छु’ अध्यक्ष राईले भने, ‘मैले घोषणा पत्रमा लेखेको कुरालाई जनताले विकासको महशुस गर्ने गरी काम गरेको छु । हाम्रो गाउँपालिकामा महत्वपूर्ण ठुला सडकसँगै कृषिक सडक विस्तार भएको छ । यसको थप स्तरउन्नति गर्ने अबको योजना छ ।’

चुनावको समयमा घोषणा पत्रमा उल्लेख गरे अनुसार विद्युत् विस्तार, पर्यटन क्षेत्रको विकास र आवश्यक पूर्वाधार निर्माणमा पनि काम गरेको अध्यक्ष राईले दावी गरे ।‘हुनत हाम्रो समाजमा राम्रो कामको कम प्रशांसा हुुन्छ । जति नै राम्रो काम गरेपछि केहि न केहि आलोचना हुन्छ नै । तर मैले जनतालाई दिएको बचन अनुसार काम गरेको छु’ अध्यक्ष राईले भने,‘मैले त्यही बेला आगमी निर्वाचनमा अरु दललाई विद्युत्का नारा बनाउन दिन्न भनेर बोलेको थिए । त्यो पुरा गरे । ठुलो भूगोल भएपनि यहाँका गाउँबस्ती उज्यालो बनाएको छु । अबको यो हाम्रो कालमा कसैलेपनि उज्यालो पालिका घोषणा गर्ने अवस्था छैन ।’

विद्युत् विस्तारमा जनतासँगै कर्मचारी तथा प्राविधिकहरुको ठुलो साथ पाएको उनले बताए । ‘भन्न त ध्रुवले विद्युत् नबालेको भए अरुले पनि बाल्थे भन्ने गरेको सुनेको छ । आलोचना गर्न जस्तो काम गर्न सहज छैन । त्यति सहज रुपमा विद्युत् विस्तार भएको हैन् । मैले यो अभियान पुरा गर्न धेरै संघर्ष गरेको छु । आफै पोल गाड्न तार ताङ्न हिँडेको छु । त्यो मेरो गाउँपालिकाका जनताले प्रत्यक्ष देखेका छन् । यो काम पुरा गर्ने अभियानमा म पटक/पटक रोएको छु । तर जनतालाई हसाएको छु । उनीहरुको मुहारमा खुसी ल्याएको छु’ अध्यक्ष राईले भने ।

आफ्नो नेतृत्वमा जनताले सम्झनलाएक सयौँ काम गरेको अध्यक्ष राईको भनाइ छ । स्वास्थ्य, शिक्षा, कृषि लगाएत क्षेत्रमा पनि नमूना योग्य काम गरेको राईले बताए । अध्यक्ष राईले भने,‘मुन्दुम पदमार्गलाई नेपाल सरकारको १०० पर्यटकिय क्षेत्रमा मेरो पहलमा सूचिकृत भएर अहिले देश तथा विदेशको चासोको पर्यटकिय गन्तव्य बनेको छ । यहाँका ८०० बढी विपन्न परिवारलाई फुसको छानो हटाएर जस्ताको छानो दिएका छौँ । धेरै जसो वडाहरु पूर्ण रुपमा फुसको छानोमुक्त भएका छन् ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार