पौवादुङमाका २७ सय विद्यार्थीले पाए, ६० लाख वरावरको झोला र शैक्षिक सामग्री


भोजपुर, २ साउन ।
पौवादुङमा गाउँपालिकाका सम्पूर्ण विद्यालयका विद्यार्थीलाई झोलासँगै शैक्षिक सामग्री वितरण गरिएको छ । यहाँका ३३ ओटा सामुदायिक विद्यालयका बाल कक्षा देखी कक्षा–८ सम्मका करिब दुई हजार सात सय विद्यार्थीलाई करीव रु. ६० लाखको सामग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ । विद्यार्थीलाई झोलासँगै कलम,कपी, हाईजेनिक किड्स लगायत दर्जन बढी शैक्षिक सामग्री दिइएको हो । शैक्षिक विकासका लागि गाउँपालिकाले नीति तथा कार्यक्रम तयार गरेर काम गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । गाउँपालिकाले शैक्षिक विकासका लागि प्राविधिकमुलक शिक्षामा जोड दिईरहेको अध्यक्ष राईको भनाइ छ । अध्यक्ष राईले भने,‘हामीले यहाँको शैक्षिक विकासका लागि प्राथमिकताका साथ काम गरिरहेका छौँ । यहाँबाट उत्पादन भएका विद्यार्थीहरुले देशका अन्य विद्यालयका विद्यार्थीसँग प्रतिस्पर्धा गर्न सक्ने वातावरण दिने लक्ष्यका साथ काम भईरहेको छ । जसको लागि कम्प्युटर कक्षा, विज्ञान ल्याव, पुस्तकालय स्थापना, भौतिक विकास लगायतमा तिव्रताका साथ काम गरिरहेका छौँ । यसको नजिता पक्कै पनि सुखद हुनेछ भन्नेमा म ढुक्क छु ।’

झोला तथा शैक्षिक सामग्री वितरण गर्ने संस्थालाई धन्यवाद दिँदै अध्यक्ष राईले भने,‘ निकै ठुलो मेहनत तथा पहलकदमीले आज हाम्रा सवै विद्यार्थीले झोला र शैक्षिक सामग्री पाएका छन् । संस्थासँग धेरै पटक छलफल, परामर्श गरे पश्चात हामीले यो सफलता पाएका छौँ । यो आर्थिक रुपमा पनि निकै ठुलो लगानी हो । हामीलाई विस्वास गरेर यति ठुलो सहयोगको लागि यस केन्द्रलाई गाउँपालिकाको तर्फबाट धन्यवाद ज्ञापन गर्दछु ।’गाउँपालिकाले राष्ट्रिय अपाङ पुनः स्थापना केन्द्रको सहयोगमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो । केन्द्रले चीनको एक संस्थासँग सहकार्य गरेर यस गाउँपालिकाका सबै विद्यालयमा सामग्री वितरण गरेको केन्द्रका कानुनी सल्लाहकार देवीराम उपाध्यायले जानकारी दिए ।

सल्लाहकार उपाध्यायले भने,‘ गत वर्ष पनि यहाँका केहि विद्यालयमा हामीले झोला वितरण गरेका थियौँ । गाउँपालिकाको निरन्तरण पहलकदमीका कारण यहाँका सबै सामुदायिक विद्यालयलाई यस बर्ष पूर्णरुपमा वितरण गर्न सफल भएका छौँ । गाउँपालिकाका सबै विद्यालयमा हाम्रो केन्द्रले गरेको सहयोग पहिलो नै हो । यो गाउँपालिका अध्यक्षले निर्वाह गर्नु भएको भूमिकाको उपज हो ।’

उपाध्यायले चीनको ‘चाइना फाउन्डेसन फर पभर्टी एलेभेसनको सहयोगमा नेपालका विभिन्न विद्यालयहरुमा सहयोग गर्दै आएको जानकारी दिए ।गाउँपालिकाले विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरणसँगै न्यानो कपडा वितरण, विद्यार्थीलाई थप प्रोत्साहन गर्नको लागि गाउँपालिका अध्यक्ष अक्षयकोष स्थापना गरेर छात्राबृति वितरण लगाएका गतिविधि सञ्चालन गरिरहेको गाउँपालिका उपाध्यक्ष सम्झना राईले जानकारी दिईन । शिक्षा क्षेत्रमा धेरै काम गर्नु पर्ने भएपनि स्थानीय सरकारको सीमित श्रोत साधन कारण पनि समस्या हुने गरेको उनको भनाइ छ ।

गाउँपालिकाले ल्याएको झोला वितरण कार्यक्रमले विद्याथीहरु बीचको समानता काएम भएको नेपाल शिक्षक महासंघका सचिव टलक कार्कीले बताए । यसले विद्यालय तथा विद्यार्थीहरुमासमेत थप उर्जा थपिएको सचिव कार्कीको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार