भोजपुर, २१ फागुन । अपाङगता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम अन्तगर्त भोजपुरका नौ ओटा स्थानीय तहमा गर्भवती महिलाका लागि मोबाइल स्वास्थ्य शुभकामना कार्यक्रम सुरु गरिने भएको छ । करुणा फाउण्डेशन् नेपाल, प्रदेश सरकार र स्थानीयतहको सहकार्य तथा मेडिक मोवाइलको प्राविधिक सहयोगमा ‘मातृ तथा बाल स्वास्थ्य सेवा समन्वयका लागि मोवाइल स्वास्थ्य शुभकामना कार्यक्रम सञ्चालन हुने भएको हो ।
कार्यक्रम सञ्चालनका लागि गर्भवती महिला समक्ष जानकारी प्रदान गर्न मोवाइल सफ्टवेयर सञ्चालन सम्बन्धि स्वास्थ्यकर्मीहरुलाई प्रशिक्षक–प्रशिक्षण कार्यक्रम पनि सुरु भएको छ । प्रत्येक पालिकाका लागि छुट्टा छ्ुट्टै संञ्चालन हुने प्रशिक्षण अन्तर्गत पहिलो चरणमा पौवादुङ्मा गाउँपालिका भित्रका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुलाई तीन दिने तालिम दिइएको छ ।
तालिममा मोवाइल प्रविधिको प्रयोगका बारेमा स्वास्थ्यकर्मीलाई प्रशिक्षण गराइएको करुणा फाउण्डेशन नेपाल भोजपुरका कार्यक्रम प्रमुख राजेन्द्र पराजुलीले जानकारी दिए । स्वास्थ्यकर्मीहरुले प्रशिक्षण पश्चात आफ्नो वडा भित्र भएका स्वयमसेविकालाई मोवाइल प्रविधि सम्बन्धी अभिमुखीकरण गराउने छन् ।
अभिमुखीकरण पछि स्वयमसेविकाहरुले आफ्नो टोल तथा समुदायमा गर्भवती भएका महिलाहरुलाई मोवाइल प्रविधिमा दर्ता गराउने र दर्ता भएपश्चात गर्भ अवश्थामा लिनु पर्ने सेवा, सुत्केरी अवश्थाको बारेमा सुनिश्चित गराउने र गर्भ अवश्थामा देखिने खतराका लक्षणहरुका विषयमा सम्झना संदेश मार्फत जानकारी गराउने करुणा फाउण्डेशन नेपाल,१ नम्बर प्रदेशका बरिष्ठ कार्यक्रम अधिकृत मजबुल आलमले जानकारी दिए।
अंपाङगता रोकथाम पुनस्थापना कार्यक्रमले जन्मजात तथा जन्म पश्चात् हुने अपाङ्गता न्युनिकरण गर्ने मातृशिशु मृत्यदर न्यूनिकरण गर्ने र अपाङ्गता भएका व्यक्तिहरु सहितको समावेसी समाजको निर्माण गर्न सहयोग पुग्ने १ नम्बर प्रदेशका बरिष्ठ कार्यक्रम अधिकृत आलमले जानकारी दिए ।